तनहुँ–१ बाटै चुनाव लड्छु : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भने, ‘यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।’

नेकपा (एकीकृत समाजवादी) पार्टीले तनहुँ–१ दाबी गरेको विषयलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले आफू स्वयं यहाँबाट चुनाव लड्ने भएपछि उनीहरूको दाबी नलाग्ने प्रष्ट पारे । ‘वर्तमान गठबन्धनको सूत्रधार नै म हो । म आफैँ लड्ने भएपछि उहाँहरूको दाबी लाग्दैन,’ पौडेलले भने, ‘उक्त पार्टीका उम्मेदवारले नै वरिष्ठ नेता पौडेल चुनाव लड्छु भनिसक्नुभएकाले मेरो केही लाग्दैन, मलाई अर्को व्यवस्था गरिदिनुस् भनेर माधव नेपाल र मसँग भनिसक्नुभएको छ ।’

पौडेलले फरक प्रसंगमा पृथ्वीराजमार्ग विस्तारका क्रममा व्यास–१२ घाँसीकुवामा रहेको घाँसीकुवा पार्क र कुवालाई संरक्षण गर्नका लागि पहल गरेको बताए । राजमार्ग विस्तारका क्रममा घाँसीकुवा पार्क र कुवा मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि पहल गरिदिन आफूलाई आग्रह गरेको भन्दै उनले सम्बन्धित निकायमा यस विषयमा कुरा भइसकेको बताए ।

‘पार्कलाई थप विस्तार गरेर घाँसीको ठूलो मूर्ति बनाउनुपर्छ, पार्क र कुवालाई सुरक्षित राखेर कुनापट्टि भित्ता फोरेर राजमार्ग विस्तार गर्नुपर्छ भनेर भनेको छु,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति