विद्युत् वितरणमा हुने चुहावट रोक्नु मुख्य चुनौती : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत् वितरण क्षेत्रको चुहावट रोक्नु चुनौतीको विषय रहेको बताएकी छन् ।

नेपल विद्युत् प्राधिकरणको ३७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री भुसालले आगामी दिनमा वितरणतर्फको चुहावट घटाउनका लागि अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्न जरुरी रहेको र यसका लागि वितरण संरचना सुधारमा ध्यान दिन आवश्यक रहेको बताइन् ।

अघिल्लो वर्ष विद्युत् चुहावट नियन्त्रणबाट करिब दुई अर्ब आम्दानी भएको पनि उनले स्मरण गराइन् । देश विकासका लागि ऊर्जा क्षेत्रको थप विकास नभएसम्म आर्थिक फड्को मार्न कठिन हुने उनले धारणा राखिन् ।

विद्युत् उत्पादन बढ्दै जाँदा आन्तरिक खपत बढाउने कार्यमा ध्यान दिन पनि मन्त्रीले प्राधिकरणलाई आग्रह गरिन्। आन्तरिकरूपमा विद्युत् खपत बढाउनका लागि विद्युतीय चुलोको प्रयोगमा वृद्धि, विद्युतीय सवारीसाधनको प्रयोग, उद्योग कलकारखानाको विकास तथा विस्तार गर्नुपर्ने उनको धारणा थियो । आगामी दिनमा प्राधिकरणले विद्युतीय सवारीसाधन खरिद गर्ने, चार्जिङ स्टेसन निर्माण र विद्युतीय पूर्वाधारको निर्माणको कामलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

सोही अवसरमा मन्त्रीले प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह पनि गरिन् । प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेकी मन्त्री भुसालले यसै वर्ष मात्रै सरकारले कर्मचारीलाई १५ प्रतिशत तलब बढाएको स्मरण गर्दै थप आर्थिक सहयोगको माग नराख्न आग्रह गरेकी हुन् । उनले बोनस माग्न छाडेर सेवा सुधारमा लाग्न र सबै घर परिवारसम्म बिजुली पुर्याउने कार्यमा लाग्न कर्मचारीलाई निर्देशन दिइन् । कोभिडको महामारीपछि अर्थतन्त्र तङ्ग्रिन नपाउँदै बोनसको कुरा उठ्नु सही नभएको उनले स्पष्ट पारिन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले हाल करिब ९६ प्रतिशत जनताले विद्युत्को सेवा प्राप्त गर्ने गरेको जानकारी दिए । हाल ४२ जिल्ला पूर्णरूपमा विद्युत् सेवा पुगेको जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र शतप्रतिशत जनतालाई विद्युतको सेवा प्रदान गर्ने सरकारको लक्ष्य पूरा गर्नका लागि प्राधिकरण दिनरात लागिरहेको उनले बताए ।

प्रमुख घिसिङले ३५ वर्षको इतिहासमा प्राधिकरणले गत वर्ष सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख नाफा आर्जन गर्न सकेको पनि जानकारी गराए । कार्यक्रममा उत्कृष्ट काम गरेको भन्दै १५ कर्मचारी र मातहतका १७ कार्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board