माओवादीसँग होला एकीकृत समाजवादीको एकता ?

काठमाडौँ । मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँगको एकताको पहल थालेको छ । नेकपा (एमाले)बाट विभाजित भएर बनेको एकीकृतले वामहरूको बीचमा एकताको पहल सुरू गरेको जनाएको छ ।

गत प्रतिनिधिसभा निर्वाचनअघि एमाले र माओवादीले निर्वाचनपछि एकतामा जानेगरी गठबन्धन गरेका थिए । त्यसबाट एमालेले लाभ लिएको थियो र उ सबैभन्दा ठुलो दल बनेको थियो । त्यसबेलाको फाइदाको स्वाद चाखेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग एकताको पहल थालेका हुन् ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले माओवादी केन्द्रसँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’बनाउने निर्णय गरेको छ ।

वामहरूको बीचमा एकताको पहल एकीकृत समाजवादी र माओवादी केन्द्रबाट हुने उपमहासचिव डा. गंगालाल तुलाधरले बताए ।

समितिमा पार्टीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू रहनुपर्ने सुझाव दिएको उनले बताए । नेता तुलाधरले माओवादीबाट पनि समिति गठन होस् भन्ने चाहेको बताए । साथै समितिमा शीर्ष नेताहरू नै सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

निर्वाचनको मिति घोषणा हुनुअघि वाम मोर्चाको छलफलमा एकीकृत समाजवादी, माओवादी केन्द्र, वामदेव गौतमलगायतका नेता लागेको भए पनि त्यसले मूर्तता पाउन सकेको छैन । त्यसरी चुनावमा जान मिल्ने गरी निर्वाचन आयोगले पनि अनुमति दिइसकेको छ तर वाम दलहरूबीच त्यस खालका छलफल पछिल्ला दिनमा भएका छैनन् । प्रचण्डले बाबुराम भट्टराईसँग कार्यगत एकता गरेका छन् ।

नेपाली कांग्रेससँग गठबन्धनमा रहेका एकीकृत समाजवादी र माओवादी केन्द्रलाई चुनावमा सिट बाँडफाँड चुनौतीपूर्ण छ । कांग्रेसले धेरै सिटमा दाबी गरिरहँदा आफूहरू कमजोर हुने र सिट बार्गेनिङ पावर कम हुने देखेसँगै एकीकृत समाजवादीले माओवादीसँगको एकताको प्रस्ताव राखेको माओवादीका एक नेताले बताए ।

एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल भने माओवादी केन्द्रसँग भन्दा एमालेसँगको एकताको पक्षमा रहँदै आएका छन् । उनलाई बाइपास गरेर जान सक्ने अवस्थामा माधव नेपाल नभएकाले चुनावअघि नै एकताको सम्भावना कम हुने ती नेताको अनुमान छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board