ओलीको आरोप : प्रधानमन्त्रीले श्रीमती र सालाेहरू अगाडि सारेर भ्रष्टाचार गरिरहेका छन्

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाेहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले आफन्तमार्फत् देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको जिकिरसमेत गरे ।

मंगलबार काठमाडौँमा आयोजित ‘युवा महिला र राजनीति’ विषयम विचार गोष्ठीमा बोल्दै उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्कसमेत गरे । अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरूले राजनीतिक नगरेको उल्लेख गर्दै त्यसका विरूद्ध लड्न पनि सबैलाई आह्वान गरे ।

राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दाबीसमेत गरे ।

ओलीले अहिलेको जस्तो दुरावस्था कहिल्यै नभएको टिप्पणी गरे । उनले गठबन्धनको सरकार बनेदेखि सबैतिर भद्रगोल र अराजकता मात्र रहेको दाबी गरे ।

‘यो गठबन्धनको एक वर्षको सरकारमा हामीले देख्यौँ, भोग्यौँ । अर्थतन्त्र ओरालो लाग्यो । राजनीति भद्रगोल भयो । संसद् पंगु भएको छ । संसद् संसद्जस्तो छैन । सरकार सरकारजस्तो छैन । अदालत अदालतजस्तो छैन । प्रधानन्यायाधीशमाथि ६ महिनाभन्दा बढी हुन लाग्यो महाअभियोग लागेको । न्यायालयमा न्यायाधीश हड्ताल गर्छन् । वकिलहरू कम्फु कराँते खेल्छन् । त्यो त हामीले देख्यौँ । योभन्दा दुरावस्था, अराजक र भद्रगोल के हुन्छ ?’ उनले भने ।

अध्यक्ष ओलीले नेपाली महिलाहरू इतिहासमा अग्रगामी स्थानमा भए पनि ३/४ वर्षयता महिलालाई पछि पार्न थालिएको बताए ।

‘पहिला पहिला बाबुको नाम लेख्ने भन्दा विद्वानहरूले फलानीको छोरा भनेर लेखिदिन्थे । आमाको दर्जा त्यसबेला उच्च थियो,’ उनले भने, ‘विभिन्न औपनिवेशिक कारणले महिला समुदाय पछि पर्‍यो । पछाडि पारियो ।’

केही प्राकृतिक केही शारिरिक कारणले महिलालाई पछाडि पारिए पनि धर्तीको यस भागमा महिलाहरू पछि नपरेको उनले बताए । कतिपयले राणा शासन, पञ्चायती शासन गए पनि अवस्था जहाँको त्यहीँ भएको भने पनि त्यो गलत भएको अध्यक्ष ओलीको भनाइ छ ।

‘राणा शासन र पञ्चायती शासनमा यस्तो अवस्था थिएन,’ उनले भने, ‘अहिले अवस्था बदलिएको छ । महिलाको स्तर र स्वतन्त्रता धेरै समुन्नत भएको छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board