चितवन–३ छाड्न प्रचण्डलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौँ, ३१ साउन । चितवनका कांग्रेस नेताहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाव दिएका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला सभापति राजेश्वर खनाललगायतका नेताले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले चितवन–३ कांग्रेसलाई छाडिदिनुपर्ने बताएका हुन् ।

सत्तारूढ गठबन्धनमा रहेका दलहरूले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि मिलेर जाने निर्णय गरेका छन् । त्यसैले गठबन्धन हुँदा कांग्रेसले चितवन–३ प्रचण्डलाई छाड्नुपर्ने आंकलन गर्दै चितवनका नेताहरूले प्रचण्डलाई अन्य क्षेत्रमा जान सुझाव दिएका हुन् ।

केन्द्रीय सदस्य कोइराला प्रचण्डले चितवन–३ बाटै उम्मेदवारी दिन्छु भनेर ढिपी गर्न नहुने बताउँछन् । “उहाँले चितवन–३ बाहेक अरूतिर उठ्दिन भन्नु हुँदैन । ठुलो नेताले अरू ठाउँबाट पनि जित्न सक्नुहुन्छ । यसपटक चितवन–३ उहाँले छोडिदिनुपर्दछ,” उनले भने ।

चितवन–३ केन्द्रीय सदस्य कोइरालाको गृह क्षेत्र हो र उनी पनि यहाँबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा आकांक्षी छन् । यसै क्षेत्रबाट अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ पनि उम्मेदवारको आकांक्षी छन् ।

प्रचण्डले सार्वजनिक कार्यक्रममार्फत् चितवन–३ बाटै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । गतहप्ता जापानमा नेपाली पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, “म अरू ठाउँबाट उठ्दिन । चितवन ३ बाटै उठ्छु ।”

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार बनेका प्रचण्ड चितवन–३ बाट निर्वाचित भएका थिए । कांग्रेसका जिल्ला तहका नेताहरूको अनुसार प्रचण्डलाई चितवन–३ भन्दा अरू निर्वाचनमा क्षेत्र अनुकुल छन् ।

चितवन–३ मा भरतपुर महानगरका १९ वडा र माडी नगरपालिका पर्छ । भरतपुरका १९ वडामध्ये कांग्रेसले ११, एमालेले ४, माओवादीले ३, एकीकृत समाजवादी र स्वतन्त्रले एक/एक वडाको वडाध्यक्ष जितेका छन् ।

चितवन–३ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा एमाले पहिलो दल हो । एमालेले २९ हजार ७७१, कांग्रेसले २९ हजार ३४३, माओवादीले १० हजार ९४०, राप्रपाले ६ हजार १९८ र एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएको थियो ।

गत निर्वाचनमा प्रचण्डले ४८ हजार २७६ मत ल्याइ विजयी भएका थिए । कांग्रेसको समर्थनमा उम्मेदवार बनेका विक्रम पाण्डे ३८ हजार ९३५ मत ल्याइ पराजित भए ।

गत स्थानीय तह निर्वाचनमा माडी नगरपालिकामा माअ‍ोवादी केन्द्रका उम्मेदवारले भोगेको पराजय पनि प्रचण्डका लागि खतराको घन्टी भएको कांग्रेस नेताहरू बताउँछन् ।

चितवन–३ मा पर्ने माडी नगरपालिकाको प्रमुखमा यसपटक एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भइन् भने माओवादी केन्द्रका मेयरका उम्मेदवार ऋषिराम काफ्ले पराजित भएका छन् । माडीमा एमालेले राप्रपासँग र माओवादीले कांग्रेससँग तालमेल गरेको थियो ।

प्रचण्डका लागि अर्को प्रतिकूल कारण कांग्रेसभित्रकै असन्तुष्ट समूह हो । जिल्लामा यो समूहको नेतृत्व कृष्णप्रसाद सापकोटाले गरिरहेका छन् । उक्त पक्षले प्रचण्डविरूद्ध उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

कांग्रेसको जिल्ला कार्यसमितिले प्रतिनिधिसभामा २ र प्रदेशसभामा ४ जना उम्मेदवार आफ्नो दलले पाउनुपर्ने निर्णय गरेको छ । जिल्लाको निर्णयअनुसार भागबन्डा नभए तालमेलका उम्मेदवारलाई जिताउन नसकिने चितवनका कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board