सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक आज दिउँसो बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने तय भएको छ ।

यो कार्यदल संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् भने ५ दलीय गठबन्धनबाट दुई–दुई जना सदस्य छन् ।

गत साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गरेर जाने औपचारिक सहमति गर्दै सिट बाँडफाँट गर्न कार्यदल बनाएका थिए।

उक्त कार्यदलले सिट बाँडफाँटको मोडालिटीबारे छलफल गरेको छ। स्थानीय चुनाव, संसदमा अहिले दलहरूको प्रतिनिधित्वको अवस्था, २०७४ को चुनावमा दलहरूले ल्याएका मतलगायत आधारमा सिट बाँडफाँट गर्ने तयारी छ।

दलहरूले औपचारिक रूपमा सिट दाबी गरिसकेका छैनन्। तर कांग्रेसले १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये एक सय सिट आफूहरूलाई चाहिने बताइरहेको छ। तर कांग्रेसलाई बहुमत आउने गरी सिट दिन नसकिने अन्य दलले बताइरहेका छन् भने सम्मानजनक ढंगले सिट बाँडफाँट गर्न आग्रह गरिरहेका छन्।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले पनि कार्यदललाई तोकिएको जिम्मेवारी छिटो पूरा गर्न निर्देशन दिएको थियो। भदौ पहिलो साताभित्र सिट बाँडफाँट टुंग्याउने गरी काम गर्न कार्यदललाई आग्रह गरिएको छ।

कार्यदल बैठकमा सत्ता गठबन्धनका शीर्ष नेतालाई नहराउने गरी सिट बाँडफाँट मिलाउनेबारे पनि छलफल भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति