राष्ट्रपतिबाट निश्पक्ष अभिभावकीय भूमिका भएन : नेता महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ प्रमाणीकरण नगरी फिर्ता गरेर निश्पक्ष एवं अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् ।

राष्ट्रपतिबाट नेपाल नागरिकता संशोधन विधेयक, २०७९ फिर्ता भएपछि नेता महतोले विधेयक फिर्ता गरिनु जनताप्रतिको अपमान भएको आरोप पनि लगाए । उनले भने, “एउटै विधेयक हिजोको सरकारले ल्याउँदा ठिक र अहिले अर्को सरकारले ल्याउँदा बेठिक भन्ने काम भएको छ, के कति कारणले अहिले ठिक भएन देश र जनतालाई जवाफ दिनुपर्छ ।”

संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नेपाल नागरिकता संशोधन विधेयक, २०७९ राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम विधेयकमा पुनर्विचार गर्न आवश्यक देखिएको उल्लेख गर्दै आइतबार प्रतिनिधिसभामा नै फिर्ता गरेकी थिइन् ।

नेता महतोले विधेयक फिर्ता हुँदा पद्धतिमाथिनै प्रश्न खडा भएको टिप्पणी पनि गरे । उनले यस कार्यले संविधान, संस्था, र व्यवस्थालाई नै प्रभावित पार्ने काम भएको प्रतिक्रिया पनि दिए । “संविधानमा फिर्ता पठाउने अधिकार छ, तर के कति कारणले फिर्ता गरियो जनतलाई स्पष्ट पार्नुपर्छ, संविधान, संस्था व्यवस्था सबैलाई प्रभावित गर्ने काम भएको छ । यसबाट प्रभावित जनता झनै पीडित हुने अवस्था आएको छ । बाँकी प्रक्रिया त अघि बढ्ला तर यस कार्यले संस्थाको भूमिका निश्पक्ष देखिएन भन्ने प्रश्न जन्माएको छ”, नेता महतोले भने ।

लोसपाका अर्का नेता केशव झाले पनि नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिबाट निष्पक्ष एवं अभिभावकीय भूमिका निर्वाह हुन नसकेको प्रतिक्रिया दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति