प्रचण्ड–भट्टराईबीच सहमति : एउटै चुनाव चिह्न, एउटै घोषणापत्र

काठमाडौं, २९ साउन ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक पुगेका छन् । दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर यसलाई औपचारिक रूपमा टुंग्याउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् ।

दाहालले नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिह्न र घोषणापत्रमा निर्वाचन लड्ने सहमति भएको र आ–आफ्नो पार्टीमा सहमति जुटाएर औपचारिक रूपमा टुंग्याउन लागिएको ‘ब्रिफिङ’ निकट नेताहरूसँग गरेका छन् । यो र अन्य विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डले पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । साझा चुनाव चिह्नका लागि निवेदन दिने विषय टुंगिन बाँकी रहेकाले माओवादी केन्द्र र नेपाल समाजवादी पाटीले अझै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छैनन् ।

अध्यक्ष प्रचण्डले निकट नेताहरूलाई बताएअनुसार एक–दुई दिनै संयुक्त चिह्नमा निर्वाचन लड्न निर्वाचन आयोगमा निवेदन दिने तयारी छ । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएको छ । मंसिर ४ मा प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन हुँदै छ । ०७४ मा एमाले र माओवादी केन्द्रले पछि पार्टी एकता गर्ने सहमतिसहित वाम गठबन्धन बनाएर आ–आफ्नो दलको चिह्नमा निर्वाचन लडेका थिए ।

माओवादी नेता वर्षमान पुनले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी साझा चुनाव चिह्नमा निर्वाचन लड्न करिब सहमत भएको बताए । ‘बाबुरामजीहरू माओवादीकै चुनाव चिह्नबाट चुनाव लड्ने कुरा करिब–करिब टुंगो लागेको छ,’ पुनले भने, ‘औपचारिक निर्णयका लागि आ–आफ्नो पार्टीको बैठकमा छलफल गर्न बाँकी छ । उहाँहरूको तहमा करिब टुंगो लागेको हो । हाम्रो तहमा पनि त्रंकिट गर्छौं ।’ निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ । भट्टराईले नयाँ शक्ति पार्टी बनाउँदा पनि चुनाव चिह्न आँखा राखेका थिए ।

माओवादीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूह भने दाहालको यस कदमबाट असन्तुष्ट छ । नेताहरूका अनुसार श्रेष्ठ समूहबाहेक माओवादीका अधिकांश नेता कार्यकर्ता भट्टराई माओवादीमा फर्किऊन् भन्ने चाहन्छन् । उनी माओवादीमा नफर्के पनि साझा चुनाव चिह्नबाट चुनाव लड्न तयार भएका हुन् । अर्कातर्फ हाल राष्ट्रिय सभा सदस्य रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ राजीनामा दिएर गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । गोरखामा श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र एउटै हो । भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board