रूकुम–पूर्व । रूकुम–पूर्वमा डीएसपीसहित ६ जना सवार जिप दुर्घटना भएको छ ।
जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले मोडमा गाडीको ब्रेक नलागेपछि दुर्घटनामा परेको बताएका छन् ।
शनिबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो। सो जिप खस्दा दुई जना डिएसपीसहित ६ जना घाइते छन्।
डिएसपी डाँगीले डरलाग्दो दुर्घटनामा परेर पनि भाग्यवश आफू सामान्य घाइते मात्रै भएको बताए।
‘मेरो अवस्था सामान्य नै छ। मेरो ओठ, मुखमा अलिअलि रगत बगेको छ,’ उनले भने, ‘म अहिले पनि घटनास्थलमै अन्य साथीहरूलाई हेलिकोप्टरबाट बाहिरी जिल्ला पठाउने कार्यमै खटिएको छु।’
मोडमा पुगेपछि गाडी चालक प्रहरी हवल्दार कुमारसिंह डाँगीले ब्रेक नलागेको कुरा गरेको डिएसपी डाँगीले बताए।
‘अगाडि केटालाई बसालेको थिएँ अनि म र सशस्त्रका डिएसपी बीचमा बसेका थियौं। त्यही बीचमा चालकले ब्रेक लागेन सर भन्नुभयो, तर हाम्रो कुनै उपाय थिएन। गाडी खसिसक्यो,’ डिएसपी डाँगीले भने, ‘हामी बीचमा भएको हुँदा बार समात्न पायौं र चालक र गाडीसँगै पल्टिदै तलै पुग्यौं।’
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि सोही जिपमा सवार थिए।
डिएसपी डाँगीले चालकको अवस्था गम्भीर रहेको जानकारी दिए।
प्रतिक्रिया