केरूङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा

काठमाडौँ । चीनले अनुदान सहयोगमा केरूङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा चीनका विदेशमन्त्री वाङ यीले सो घोषणा गरेका हुन् ।

बुधबार चीनको चिङ्दाओमा नेपाल–चीन द्विपक्षीय वार्ता भएको थियो । सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृतिलगायतका विभिन्न क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धन गर्ने सहमति भएको बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङको निमन्त्रणामा परराष्ट्रमन्त्री डा.खड्का चीनको तीनदिने औपचारिक भ्रमणमा छन् । भेटवार्तामा परराष्ट्रमन्त्री डा.खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनविरूद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने बताएको दूतावासले जनाएको छ ।

त्यसैगरी चिनियाँ विदेशमन्त्री वाङले नेपालको सार्वभौसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःसर्त समर्थन दोहोर्‍याउँदै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिएका थिए ।

विदेशमन्त्री वाङले अनुदान सहयोगमा चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे । उनले यसअघि सन् २०२२ को मार्चमा नेपाल भ्रमणमा सहमति गरेको नेपाल–चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिए ।

सो अवसरमा मन्त्री वाङले नेपाललाई सन् २०२२ मा ८० करोड आरएमबी उपलब्ध गराउने घोषणा गरे । नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न विचार गर्ने आश्वासन पनि दिएको छ ।

दुवै मन्त्रीले सीमा बन्दरगाहमा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेको नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड–१९ को महामारी नियन्त्रण भएपछि रसुवा–केरूङ र तातोपानी–जांमु बन्दरगाह दुईतर्फी व्यापारका लागि र हिल्सा–पुलाङ बन्दरगाह एकतर्फी व्यापारका लागि खोल्ने सहमति भएको छ ।

विदेशमन्त्री वाङले चीन फर्कन चाहने बाँकी रहेका नेपाली विद्यार्थीले स्वास्थ्य प्रोटोकल पूरा गर्दै प्रवेशाज्ञा प्रक्रिया अघि बढाउन र आफ्नो अध्ययन पुनः सुरू गर्न सक्ने पनि बताए ।

परराष्ट्रमन्त्री डा.खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गरेका हुन् । उनी २६ साउनमा काठमाडौँ फर्कने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति