एमालेले भदौदेखि कार्यकर्ताका लागि ‘स्कुल’ चलाउने

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय स्कुल विभागले भदौदेखि कार्यकर्ताका लागि नियमित रूपमा स्कुल चलाउने भएको छ । विभागको बैठकले कार्ययोजना पारित गर्दै भदौदेखि नियमित रूपमा स्कुल चलाउने निर्णय गरेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रशिक्षण जनसंगठनबाट सुरू गर्न लागिएको छ । २ भदौदेखि पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिइने प्रशिक्षणमा पहिलो लटमा अनेरास्ववियू र दोस्रो लटमा युवा संघका कार्यकर्ताहरू सहभागी हुनेछन् ।

त्यसपछि क्रमशः सबै जनसंगठनलाई प्रशिक्षण दिइने र भदौभित्रै ८ वटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

तीनदिने प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौँ महाधिवेशनको कार्यदिशा, आजेको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोगलगायतका विषयमा नेताहरूले प्रशिक्षण दिने योजना विभागले बनाएको छ ।

निर्वाचन सकिएलगत्तै पुसदेखि पुनः प्रशिक्षण कक्षालाई निरन्तरता दिने गरी वार्षिक कार्ययोजना पास गरेको विभागका उपप्रमुख ईश्वर रिजालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति