काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । संसद्द्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हन् ।
विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित मध्यावादीको प्रतीक्षा बिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ नागरिक समाज तर्फका टोलीहरू शीतल निवास पुगिरहेका छन् ।
टोलीहरूसँग भण्डारीले नागरिकता विधेयक फिर्ता गर्ने संकेत गर्दै इतिहासमा समेत सच्याउन नसकिने काम गर्न नहुने बताउँदै आएकी छिन् ।
के छ नागरिकता संशोधन विधेयकमा
संविधान जारी (२०७२ असोज २) अघि जन्मेको व्यक्तिले जन्मको आधारमा नेपाली नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजको नागरिकता पाउनेछन् । विधेयकमा बाबुको पहिचान नभएको तर नेपाली नागरिक महिलाबाट जन्मेको सन्तानले पनि वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ ।
तर, त्यसका लागि नेपाली नागरिक आमाले बाबुको पहिचान हुन नसकेको स्वःघोषणा गर्नु पर्ने छ । वैवाहिक अंगीकृत नागरिकताका लागि यसअघि समयसीमा थिएन तर यो देशका लागि घातक हुने भन्दै पटक–पटक समयसीमा राख्नुपर्ने आवाज उठेपनि यो सुनुवाइ भएन ।
विधेयकमा गैरआवासीय नेपालीलाई पनि राजनीतिक अधिकारबाहेक अधिकार हुने गरी नागरिकता दिने व्यवस्था गरिएको छ । सार्क मुलुकबाहेक अन्य देशमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक र सामाजिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको छ ।
समाचार दैनिकबाट
प्रतिक्रिया