एमाले ढाल्न प्रचण्ड र माधव कांग्रेसको बिँड बने : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसरूपी बञ्चरोको बिँडको संज्ञा दिएका छन् ।

काठमाडौँमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले कांग्रेसलाई २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिँड बनेको बताए ।

उनले बिँड बिनाको बञ्चरोले रूख ढाल्न नसक्ने र एमाले रूपी रूख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको बताए ।

“संघ निर्वाचन र प्रदेशसभाको निर्वाचन मंसिरमा एकैचोटी हुँदै छ । बञ्चरो लिएर ढाल्न थालेछन् एउटा रूख काटेर । वरतिर, परतिरको रूखलाई बर्बर आँशु झारेर रुन थाले छ । अनि अरू रूखहरूले सोध– किन यसरी आँशु खसालेर रोएको ? आखिर ढल्नु त छँदै छ, मर्नु त छँदै छ । बीचमा केही पनि भएन भने पनि २३ सिटमा पुर्‍याएको कांग्रेसले हामीतिर लड्ने त होइन, लड्ने कुरा छाडिदिऊँ, सोझो हेर्ने अवस्था पनि थिएन । यिनै बिँडले कम्युनिस्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिस्ट सरकार ढालीपाऊँ, दक्षिणपन्थी सरकार गठन गरी पाऊँ भनेका हुन्,” उनले भने ।

उनले अगाडि भने, “कांग्रेसको बिँड हेर्नुस् त कस्ता छन् ? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन् । के–के नामका छन् ? बञ्चरोले मात्रै रूख ढाल्न सक्दै सक्दैन । माओवादी र माधव नेपालका पछि लागेकालाई कांग्रेसको बिँड नभइ आफ्नो पार्टी आउन आग्रह गर्दछु । कांग्रेसको बिँड भएर कम्युनिस्ट आन्दोलनलाई ढाल्दै जाने र समाजवाद निर्माण गर्ने भुलभुलैयामा नफस्नुस् । वामपन्थी आन्दोलन सफल पारौँ ।”

ओलीले आफ्नो पार्टीलाई देश बनाउनका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत चाहिएको पनि दोहोर्‍याए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति