किन ताइवान गइन् अमेरिकी सभामुख पेलोसी ?

काठमाडाैँ । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’की सभामुख न्यान्सी पेलोसी चढेको अमेरिकी वायु सेनाको जहाज मंगलबार साँझ मलेसियाको राजधानी क्वालालम्पुरबाट उड्यो । उक्त जहाजको गन्तव्य तोकिएको थिएन तर त्यो ताइवानको राजधानी ताइपेइ पुगेर अवतरण हुन्छ भन्ने धेरैले अपेक्षा गरेका थिए ।

उक्त जहाजबारे संसारभरिका मानिसहरूलाई यति धेरै चासो थियो कि जहाजहरूको उडान ट्रयाक गर्ने साइट फाइटराडर–२४ मा मानिसहरू ओइरिए । मंगलबार राति उक्त जहाज ताइपेईमा ल्यान्ड गर्न लाग्दा त ७ लाख ८ हजार मानिसले एकैपटक पछ्याएका थिए भने । क्वालालम्पुरदेखि ताइपेईसम्म पुग्दा २९ लाख २० हजार मानिसले फ्लाइडराडरमा कुनै न कुनै ठाउँमा यो जहाजलाई पछ्याएको उक्त साइटले जनाएको छ ।

संसारका अरू कुनै मुलुकमा जाँदा अमेरिकी सभामुखको भ्रमणले यति धेरै चासो पाउँदैन । उनको ताइवान भ्रमण भने पेलोसीसँग मात्र सम्बन्धित थिएन, संसारका दुई ठुला शक्ति राष्ट्र चीन र अमेरिकासँग जोडिएको थियो ।

ताइवान नजान चिनियाँ अधिकारीहरूले कडा चेतावनी दिइरहेका बेला पेलोसीको जहाज ताइवान जाने भएपछि अब के होला भनेर संसारभरिका मानिसले चासो राखेका हुन् । उनको भ्रमणअघि ताइवान टापुको आसपासमा अमेरिका र चिनियाँ युद्धपोत जम्मा भएका थिए ।

मंगलबार राति पेलोसी ताइपेइ पुगिन् । बुधबार उनी त्यहाँको संसद्मा गइन् र राष्ट्रपति साइ इङ–वेनसँग भेटिन् ।

आफ्नो भ्रमणबारे पेलोसीले भनेकी छन्, “हाम्रो भ्रमण अमेरिकी संसदीय प्रतिनिधि मण्डलका धेरै भ्रमणमध्ये एउटा हो । र, यो ताइवान रिलेसन एक्ट १९७९ विरूद्धमा छैन ।” उनले ताइवानका नागरिकलाई अहिले अमेरिकाको ऐक्यवद्धता निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै आफू ताइवानप्रतिको अमेरिका प्रतिवद्धतालाई दोहोर्‍याउन आएको बताएकी छन् ।

चीनले भने पेलोसीको त्यो व्याख्यालाई स्वीकार गरेको छैन । उनको भ्रमणले चीनको सार्वभौमसत्तालाई मात्र होइन यो क्षेत्रकै स्थायित्वलाई चुनौती दिएको उनको भनाइ छ । चिनियाँ विदेश मन्त्रालयले आफ्नो विरोध जनाउन बुधबार बेइजिङस्थित अमेरिकी राजदूतलाई बोलाएको छ भने जनमुक्ति सेनाले आजदेखि ताइवानलाई घेरेर विभिन्न ६ ठाउँमा हवाई र जल सैन्य अभ्यास गर्ने बताएको छ । ताइवानबाट खाद्यान्न निर्यात गर्ने दर्जनौँ कम्पनीहरूलाई चीनले प्रतिबन्ध लगाएको छ ।

पेलोसी पछिल्ला २५ वर्षमा ताइवान पुग्ने पहिलो अमेरिकी सभामुख हुन् । सन् १९९७ को मार्चमा तत्कालीन अमेरिकी सभामुख न्युट गिन्ग्रिजले ताइवान भ्रमण गरेका थिए ।

गिन्ग्रिजको भ्रमणका बेला चीन आर्थिक र सैनिक हिसाबले अहिलेजस्तो शक्तिशाली बनिसकेको थिए । सन् १९४९ मा जनवादी गणतन्त्र बनेको चीनले तत्कालीन सरकार प्रमुख चियांग काइ–सेक गएर बसेको ताइवान टापुलाई आफ्नो अभिन्न अंग ठान्दछ र कुनै दिन मातृभूमिमा मिसाउने लक्ष्य राखेको छ । सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा आएका र राष्ट्रपति बनेका सी चिनफिङले त ताइवानसँगको एकीकरणलाई आफ्नो पुनर्जागरण अभियानको अभिन्न हिस्सा मानेका छन् । शान्तिपूर्ण तरिकाले नभए सैन्य बलमार्फत् पनि ताइवानलाई चीनमा मिसाउने बेइजिङको भनाइ छ ।

आर्थिक, सामरिक र सैनिक हिसाबले बलियो बन्दै गएको चीनलाई २ करोड ४० लाख मानिस बसोबास गर्ने ताइवान एकीकरण गर्ने समय नजिकिँदै गएको भन्ने लाग्छ । त्यही भएर कुनै पनि अन्तर्राष्ट्रिय फोरमहरूमा चीन ताइवानको अस्तित्व स्वीकार्दैन । चीनको प्रभाव बढ्दै गएपछि धेरै मुलुकहरूले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्दै गएका थिए । अहिले ताइवानसँग भ्याटिकन सिटीसहितका १४ मुलुकले मात्र कूटनीतिक सम्बन्ध राखेका छन् ।

अबको केही महिनापछि चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशनबाट तेस्रो कार्यकालका लागि चुनिने तयारीमा रहेको चिनफिङलाई पेलोसीको ताइवान भ्रमण चिढ्याउने खालको थियो ।

केही दिनअघि अमेरिकी समकक्षी जो बाइडेनसँग झन्डै दुई घन्टा बढी भएको टेलिफोन वार्तामा पनि चिनफिङले पेलोसीले ताइवान भ्रमण गर्न नहुने र उनी ताइवान गए कडा प्रतिरोध गर्ने चेतावनी दिएका थिए । बाइडेनले संसद्की प्रमुख भएकाले पेलोसी कुन–कुन ठाउँमा भ्रमण गर्ने आफैँ निर्णय गर्ने बताएका थिए ।

मंगलबारको ताइवान भ्रमणले चीनबाट जति उनको आलोचना भएको छ अमेरिकामा भने समर्थन बढेको छ । पेलोसीको कहिल्यै प्रशंसा नगर्ने प्रतिपक्षी दल रिपब्लिकनका सांसद्हरुले पनि उनको ताइवान जाने सही निर्णय गरेको भन्दै प्रशंसा गरेका छन् ।

आफ्नो राजनीतिक करियरभरि चीनको आलोचक रहेकी पेलोसीको यो भ्रमणले सभामुखका रुपमा ताइवान गएर संकटका बेला ताइवानलाई साथ दिन्छौँ भन्ने सन्देश दिने योजना पूरा भएको छ । तर, उनको यो भ्रमणले चीन र अमेरिका सम्बन्धलाई कुन दिशामा लैजान्छ र ताइवानको भविष्यलाई कस्तो असर पार्छ आगामी दिनमा थाहा हुने छ ।


(द न्युयोर्क टाइम्सलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका विवरणहरूमा आधारित)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board