काठमाडौँ । साफ यू–२० च्याम्पियनसिप २०२२ अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बलियो बंगलादेशको सामना गर्दै छ । भारतको भुवनेस्वरस्थित कालिंगा रंगशालामा हुने खेल अपराह्न सवा ४ बजे सुरु हुने छ ।
बंगलादेशविरुद्ध नेपाललाई खेलमा सुखद् नतिजा मात्र ल्याएर फाइनल यात्रा सम्भावना रहँदैन । कम्तीमा पनि नेपालले ५–० अन्तरको जित निकाल्नु पर्ने हुन्छ ।
यता, आज नै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । जुन खेलमा माल्दिभ्सले अप्रत्याशित नतिजा निकाले नेपालको भाग्य खुल्ने छ ।
तीन खेलमा ९ अंकसहित बंगलादेश शीर्ष स्थानमा छ । समान खेलमा समान ६ अंक जोडेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपालभन्दा भारत गोलअन्तरमा निकै माथि छ ।
बंगलादेशले पहिलो खेलमा श्रीलकालाई हराएको थियो भने दोस्रो खेलमा भारतलाई स्तब्ध पारेको थियो । तेस्रो खेलमा भने बंगलादेशले माल्दिभ्समाथि सहज जितसहित फाइनलमा दाबेदारी बलियो पारेको थियो ।
बंगलादेशमाथि जित निकालेमा नेपालको खातामा पनि ९ अंक हुने छ । दोस्रो खेलमा भारतले माल्दिभ्सलाई हराएमा घरेलु टोलीको पनि ९ अंक हुने छ । यस्तो अवस्थमा राम्रो गोलअन्तरको आधारमा भारत र बंगलादेशले शीर्ष दुई स्थान पक्का गर्दै फाइनलको टिकट काट्ने छन् ।
पहिलो दुई खेलमा नेपालले क्रमशः माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले हराएको थियो । तर, फाइनलमा दाबेदारी प्रस्तुत गरेको नेपालका लागि तेस्रो खेलमा भारतसँग व्यहोरेको ८–० को लज्जास्पद हार बेहोर्नु घातक बनेको छ ।
प्रतिक्रिया