झडपमा घाइते भएका युवकलाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत ल्याइएको छ । आइतबार दिउँसो आठबीसकोट नगरपालिका–९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकोट ११ का निलकमल शाहलाई हेलिकोप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतबार दिउँसो ४ बजेतिर झडप भएको हो । घाइते शाहलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीले जानकारी दिए । उनका अनुसार शाहको टाउकोमा गम्भीर चोट लागेको छ । आठबीसकोटको नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि शाहलाई सुर्खेत पठाइएको हो ।

शाहलाई आक्रमण गरेको आरोप लागेका आठबीसकोट-९ का २१ वर्षीय पवन बटाला र २३ वर्षीय हरि केसी फरार रहेका डीएसपी सोतीले बताए । व्यक्तिगत कारणले झडप भएको बताइए पनि घटनाको वास्तविक कारण खुल्न सकेको छैन । फरारहरूको खोजी र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सोतीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board