‘केजीएफ २’सँग तुलनाले रणवीरको ‘शमशेरा’ फ्लप, के छन् अरू कारणहरू ?

काठमाडौं, १२ साउन । अभिनेता रणवीर कपुरको फिल्म ‘शमशेरा’ बक्स अफिसमा पूर्ण रूपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर आशालाई निराशामा बदल्दै उनको फिल्म यो वर्ष फ्लप हुने फिल्मको सूचीमा पर्‍यो ।

रिलिजको पहिलो दिन १० दशमलब २५ करोड ओपनिङ गरेको फिल्म हरेक दिन बक्स अफिसमा गिर्दो अवस्थामा रह्यो । रिलिजको ६ दिनसम्म रणवीर र सञ्जय दत्तको फिल्मले ४० करोडको आंकडा पनि पार गरेको छैन । फिल्म विश्लेषकहरूले ठूलो ब्यानरको फिल्म किन फ्लप भयो भनेर यसका ६ कारणको पहिचान गरेका छन् ।

कमजोर ट्रेलर
फिल्म ‘शमशेरा’ फ्लप हुन्छ भन्ने अनुमान २४ जुनमै लगाइएको थियो, जुन दिन फिल्मको ट्रेलर रिलिज भएको थियो । ट्रेलर रिलिजपछि फिल्ममा केवल संवादबाहेक अरु केही छैन भन्ने कुरा प्रस्ट भइसकेको थियो । वाणी कपुरले फिल्ममा कोल्ड शोल्डर टप लगाउनु अर्को मजाक बनेको थियो । सञ्जयको अनौठो तरिकाले संवाद बोल्ने शैलीलाई पनि सामाजिक सञ्जालमा मजाकको विषय बनाइएको थियो । समग्रमा ट्रेलरले दर्शकलाई हलमा तान्न असफल रह्यो ।

रणवीरको इमेज
पहिलो फिल्म ‘सावरिया’बाट रणवीरको इमेज एक लभर ब्वाइवाला बनेको छ । ‘रकस्टार’, ‘वेक अप सिड’, ‘ये जवानी है दिवानी’ जस्ता फिल्मको सफलताले उनको इमेजलाई अझ मजबुत बनायो । यस्तो अवस्थामा चार वर्षपछि कमब्याक गरेको फिल्मले उनलाई डकैत बनाएको छ भने फ्यानको सोचाइ कस्तो रहला । दर्शकले यही कारण उनको यो लुक्सलाई स्वीकार गर्न सकेनन् ।

कमजोर संगीत
फिल्ममा कुनै यस्तो गीत छैन, जुन गीत दर्शकले हलबाट बाहिर निस्किएपछि सम्झिरहुन् । संगीतकार मिथुनले यति ठूलो फिल्म कहिल्यै गरेका थिएनन्, जसकारण उनले फिल्मका लागि एउटा पनि हिट गीत दिन सकेनन् । यसलाई पनि फिल्मको एउटा कमजोर पक्ष मानिएको छ ।

कथामा अलमल
फिल्ममा सञ्जय दत्तलाई भिलेनका रूपमा देखाइएको छ । यसअघि पनि दर्शकले उनलाई ‘अग्निपथ’ र ‘केजीएफ २’ जस्ता फिल्ममा भिलेनको रूपमा देखिसकेका छन् । दर्शकले उनको चरित्रलाई नयाँ बोतलमा पुरानो रक्सी जस्तो माने र उनलाई अस्वीकार गरे ।

केजीएफ २ सँग तुलना
फिल्मका लागि सबैभन्दा हानिकारक पक्ष नै ‘केजीएफ २’सँग यसको तुलना गर्नु रह्यो । सामाजिक सञ्जालमा लगातार यसलाई लिएर बहस चल्यो कि यदि ‘शमशेरा’ ‘केजीएफ २’ भन्दा अघि रिलिज भएको भए यो हिट हुने सम्भावना बढी थियो । यशसँग रणवीरको तुलना हुन थाल्यो, जुन नै ठूलो भूल बन्यो ।

विवाद
फिल्मको फस्टलुक सार्वजनिक हुनासाथ यो विवादमा तानियो । समाजका विशेष वर्गले सञ्जयको लुक्स र उनले निधारमा लगाएको टीकालाई लिएर विरोध जनाए । सामाजिक सञ्जालमा फिल्म बहिस्कारको अभियान नै चल्यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board