संघीय निर्वाचनको आँकलन : लोवाम गठबन्धन कि वाम गठबन्धन ? – २

शुभशंकर कँडेल – ‘गठबन्धनको अर्को नाम षड्यन्त्र मात्र हो‘ चर्चित अमेरिकन लेखक रोवर्ट एन्टन विल्सनले भने जस्तै गठबन्धन हरेक क्षण षडयन्त्र, धोका र वेइमानीको सुन्दर व्यवसाय हो । त्यसैले गठबन्धन राजनीतिमा नेपालका दल र तिनका प्रमुखहरुलाई यस्तै मिथकमा लडिरहन भ्यानभ्याईं हुने गर्दछ । अहिले हरेक ठूला र मुख्य भनिएका नेताहरु यही सिद्धान्तलाई हावा भर्नमा तल्लीन छन् । अहिले नेपालमा त्यही भइरहेको छ । स्थानीय निर्वाचन सकिने वित्तिकैबाट संघीय निर्वाचनको सम्भावित दृश्यका बारेमा छलफल चलिरहेको छ ।

यो छलफल दलका कोटरीमा मात्र सिमित छैन । आगामी संघीय निर्वाचन र त्यसपछि बन्ने सरकारको स्वरुप तथा दलहरुको हैसियतका बारेमा चिया गफदेखि बुद्धिजीवी र विश्लेषकहरुका आँकडा प्रस्तुत हुन थालेका छन् । दलका नेताहरुले अघि सार्ने आँकडा यति दुषित र आग्रही छन् कि तिनको चर्चा गर्नु पनि व्यर्थ छ । दिनको घाम जत्तिकै तथ्याङ्कमा मा त दलका नेता भनिनेहरुले दिउँसै रात पार्छन् भने तिनीहरुका विश्लेषण कस्ता होलान् ? सहजै बुझ्न सकिन्छ । यस्ता स्वानामधन्यहरुमा नेका नेता डा. मिनेन्द्र रिजाल र एमाले सांसद देवेन्द्र दाहाल अघि देखिएका छन् । त्यस्ता मिथकहरुबाट जोगिन र यथार्थ तथ्याङ्क बुझने सघाउन पुगोस् भन्ने यो टिप्पणीको आशय हो । हामीले ७५३ र १६५ निर्वाचन क्षेत्रमा नै गत स्थानीय निर्वाचनमा दलहरुले प्राप्त मतको संश्लेषित विस्तृत विवरण यो श्रृंखलाको अन्तमा प्रकाशन गर्ने छौं ।

अघिल्लो पहिलो भागमा दलहरुबीच गठबबन्धनको गलफत्ती चलिरहँदा हालै सम्पन्न स्थानीय निर्वाचनको दलीय हैसियतलाई प्रस्तुत गरिएको थियो । त्यसलाई एकपटक यहाँ पनि स्मरण गर्नु स्वाभाविक हुनेछ ।
गत स्थानीय निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई संघीय निर्वाचनका १६५ क्षेत्रभित्र पसेर हिसाब गर्दा यस्तो दृश्य देखिएको छ ।

एबीसी टेलिभिजन र नेपालपेजको निर्वाचन विश्लेषण

उपरोक्त दलीय हैसियत देखिएको अवस्थामा प्रमुख तीन दलका बीचमा चर्को प्रतिस्पर्धा र गठबन्धनको रस्साकस्सी चलेको स्वत स्पष्ट हुन्छ। रमाइलो के छ भने आगामी संघीय निर्वाचनमा या त नेका र माके सम्मिलित लोकतान्त्रिक वाम गठबन्धन (डेमोक्रेटिक लेफ्ट एलायन्स –डिएलए) हुनेछ । या त एमाले र माओवादी सम्मिलित वाम गठबन्धन (लेफ्ट एलायन्स – एलए) बन्नेछ । यी दुवै गठबन्धनको साझा दल हो माओवादी केन्द्र । यसैले यतिबेला माके अध्यक्ष प्रचण्डमा कोसँग गठबन्धन गर्दा बढी भन्दा बढी फाइदा हुनसक्छ भन्ने छट्पटीले युद्धस्तरको राजनीतिक दौडधुप देखिएको छ ।

अघिल्लो संघीय निर्वाचनका सन्दर्भमा दलहरुले प्राप्त गरेको समानुपानिक मतका तुलनामा हेर्दा यसपटक सम्पन्न भएको स्थानीय निर्वाचनको दलीय मतलाई विश्लेषण गर्दा दलका मुख्य नेताहरुको निर्वाचन क्षेत्रमा उनीहरुको लोकप्रियता घटेको छ । तर दलका मुखियाहरुले यस्तो तथ्याङ्कलाई नरुचाउने मात्र होइन कि त्यो प्रसङ्ग नै नआए हुँदो हो जस्तो गर्दछन् । त्यसभन्दा अघि बढेर नेका र एमालेका बीचमा कुन दल ठूलो हो भन्ने वाकयुद्ध जारी नै रहेको छ । दल र तिनका मुखियाहरुले दावी गर्न नमिले पनि हामीजस्तो मिडियाकर्मीका नजरमा भन्ने हो भने अवश्य नै अनेक सीमा र कमजोरी तथा बद्नामीका बाबजुद पनि एमाले नै सबैभन्दा ठूलो दल हो । किन भने एमालेले प्राप्त गरेको स्थानीयन निर्वाचनको मत केवल एमाले दलको एकल मतमात्र हो । यद्यपि केही ठाउँमा केही अन्य दलका कतिपय मतका बाछिटा भने अवश्य नै एमालेको मतमा मिसिएका थिए ।

तर माथि प्रस्तुत मतमा केवल एमालेको मात्र रहेको छ । किन भने वडाको मतमा एमालेमा झापाको दमकमा बाहेक अन्यत्र अन्य दलको खासै मत परेको छैन । तर नेकाको मतमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलको मत छ । यतिसम्म की यी तीन दलको एमाले विरोधी प्रवृत्तिका कारण आफ्ना उमेद्वार नै नउठाएर नेकाका अघिल्तिर आत्मसमर्पण समेत गरेका थिए केवल एमाले पराजित गर्ने मूल्यमा । तसर्थ माथिको एकल दलीय तथ्याङ्कमा नेका ठूलो दल देखिए पनि त्यसभित्र गठबन्धनको बल, सत्ताको उन्माद, त्राश र आश समेत हो भन्ने विर्सनु हुँदैन । बरु माके र एसको मत उनीहरुकै गलत नीतिका कारण नेकातिर सरेर उनीहरुको आकार घट्न पुगेको हो । त्यो किन भने माके र एस लगायतका दलको मत घटेको भन्दा पनि एमाले विरोधी आक्रोश बढेर काङ्ग्रेस पोसेको अवस्था हो । तिनीहरुले आगामी निर्वाचनमा आफ्ना उमेद्वार भएमा त्यतैतिर मतदान गर्ने तहमै रहेको मान्नु पर्दछ । त्यसका अलवा स्थानीय निर्वाचनको मत निर्वाचन क्षेत्रभित्रका पालिका र वडाको कूल मत हिसाव गरेर तुलना गरेर हेर्दा भने एमाले दोस्रो भएको छ ।

गठबन्धनका लागि तथ्याङ्क के भन्छ ?

अब स्थानीय निर्वाचनमा प्राप्त मतका आधारमा सम्बन्धिन निर्वाचन क्षेत्र भित्रका पालिका तथा वडाहरुमा ती दलले पाएको मतका आधारमा हेर्दा आगामी निर्वाचन डीएलए भर्सेस एमाले वा एलए भर्सेस काङ्ग्रेस बन्ने निश्चित जस्तै देखिएको छ । यस स्थानीय निर्वाचनको आधारमा हेर्दा तलको अवस्था देखिन्छ ।

एबीसी टेलिभिजन र नेपालपेजको निर्वाचन विश्लेषण

नेका र माके सम्मिलित गठबन्धन (डीएलए) बनेको अवस्थामा कुल १६५ निर्वाचन क्षेत्र मध्ये १ सय ५२ निर्वाचन क्षेत्रमा गठबन्धन अगाडि देखिएको छ । त्यो अवस्थामा एमाले जम्मा ११ स्थानमा अगाडि हुनेछ । त्यसैगरी सबै दल एकातिर भएपनि भक्तपुरको एउटा निर्वाचन क्षेत्रमा नेमकिपा नै अगाडि छ । उता कैलालीको एउटा निर्वाचन क्षेत्रमा डीएल भर्सेस एमाले भएको अवस्थामा पनि रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति अगाडि देखिएको छ । त्यसो त देशभर मध्ये एउटा निर्वाचन क्षेत्रमा डीएल गठबन्धन र एमालेका बीचमा निकै साँघुरो अर्थात २ सयजति मतको मात्र अन्तर रहेका हुनाले त्यसलाई तिव्र प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

उपरोक्त प्रकारको अवस्थामा प्रतिस्पर्धा हुने र एमाले, जसपा, लोसपा लगायतका दल एक्लाएक्लै प्रतिस्पर्धा गरेको अवस्थामा ती दलहरु कुनै एक क्षेत्रमा पनि अघि देखिंदैनन् ।

एलए भर्सेस नेका

एबीसी टेलिभिजन र नेपालपेजको निर्वाचन विश्लेषण

अब एमाले र माके सम्मिलित वाम गठबन्धन (एलए) भएको अवस्थामा निर्वाचन एलए भर्सेस काङ्ग्रेसका बीचमा हुनेछ । त्यो अवस्थामा वाम गठबन्धन कुल १६५ निर्वाचन क्षेत्र मध्ये १४५ निर्वाचन क्षेत्रमा अघि रहेको छ । त्यो अवस्थामा नेका जम्मा १३ क्षेत्रमा अघि देखिन्छ । गत निर्वाचनमा यस्तै अवस्था थियो ।

त्यो बेला नेकाले जम्मा २३ क्षेत्रमा नतिजा निकालेको थियो । वाम गठबन्धन भर्सेस नेकाबीच प्रतिस्पर्धा हुँदा जसपा ५ निर्वाचन क्षेत्रमा अघि छ भने नेमकिपा र नाउपा १ क्षेत्रमा अघि देखिएका छन् । सम्भवत यही अवस्थाबाट नेपाली काङग्रेसका नेताहरु अत्तालिएर माकेसँग कुनै हालतमा पनि गठबन्धन गरेर जानुपर्ने पक्षमा देशभित्रबाट मात्र नभएर बाह्य क्षेत्रबाट समेत प्रचण्डमाथि दबाब बढाइरहेको सहजै बुझ्न सकिन्छ ।

तेस्रो विकल्प

एबीसी टेलिभिजन र नेपालपेजको निर्वाचन विश्लेषण

एमाले, नेकाप्लस लोसपा र माकेप्लस जसपा, एससमेत बीचको (तेस्रो गठबन्धन) त्रिपक्षीय प्रतिस्पर्धा भएमा अझ रमाइलो दृश्य देखिन्छ । नेका ६०, एमाले ५५, तेस्रो गठबन्धन (माकेप्लस जसपासहित) ४५ र अन्य ५ क्षेत्रमा अघि देखिएको छ । यस्तो चुनावी प्रतिस्पर्धा होस् भन्नेमा नेका र एमाले तथा केही हदसम्म बाह्य कतिपय शक्ति केन्द्रको समेत चाहना रहेको बुझिन्छ । तर यस्तो तहको प्रतिस्पर्धा हुने निकै कम सम्भावना छ । किन कि नेका चुनाव पहिले नै पहिलो दल भएर आगामी ५ वर्ष सत्ता हालीमुहाली गर्र्ने मूल्यका लागि जे पनि गर्न तयार छ । त्यसका लागि माकेसँगको लोवाम गठबन्धन नै हो ।

लोवाम गठबन्धन भएपनि वा वाम गठबन्धन भएपनि किनारामा पारिने फेरि पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी केही हदसम्म लोसपा र जसपा लगायतका दल हुनेछन् । राप्रपाले पनि यसपटकको निर्वाचनमा यथोचित भाउ पाउने सम्भावना निकै कम छ । बरु राजमोले भने जुन गठबन्धन भएपनि १ सिट जोगाउने निश्चित छ । त्यसैगरी जसपाबाट अलग भएर फेरि आफ्नै कुटी बनाउने धन्दामा रहेका बाबुराम भट्टराईले पनि आफू बाहेक अरु कसैलाई संसदमा पु¥याउन असम्भव देखिन्छ । सत्ताधारी लोवाम गठबन्धन हुँदा उपेन्द्र यादवको जसपा पनि किनारामा धकेलिने सम्भवाना छ। त्यो अवस्थमा पुराना रिसराग छाडेर जसपा र लोसपा बीच मधेशमा गठबन्धन भएमा अघिल्लो निर्वाचनको तुलनामा आधाउधी हैसियत जोगाउन सक्नेछन् । लोवाम गठबन्धन भएको अवस्थामा लोसपाले संसदमा उपस्थिति सम्म जनाउने अवस्था भन्दा बढी हुनेछैन ।

लोवाम गठबन्धन भएको अवस्थामा एमाले र जसपा वा एमाले र लोसपा बीच गठबन्धन भएर आशातित परिणाम आउने सम्भावना निकै पातलो छ । हलैको नागरिकता विधेयकले समेत अर्को एउटा चुँगीकरको गरालोजसरी अप्ठ्यारो खडा गरिदिएको छ । यस बारेमा अर्को श्रृंखलामा विश्लेषण गरिनेछ ।

कस्तो गठबन्धन ? जस्ता नेता उस्तै गठबन्धन !

यतिबेला नेपालका मुख्य राजनीतिक दलहरुका बीचमा नीति, कार्यक्रम र विचारको व्यवहारिक हिसाबले निकै पातलो फरकपन समेत भेट्टाउन गा¥हो छ । तसर्थ कुन राजनीति दलका बीच गठबन्धन भए स्वभाविक र कुनकुन दलबीच गठबन्धन भए अस्वभाविक भन्ने कुनै स्थिति छैन । नामले नेपालमा वामपन्थी र गैरवामपन्थी दलहरु छन् । तर उनीहरुका बीचमा दलको बंशानुगत जन्मका हिसावले उनीहरुको नागरिकतामा फरक जात र धर्म भएपनि व्यवहारमा एउटै आमाका सहोदर दाजुभाइजस्ता प्रतित हुन्छन् ।
गठबन्धन के का लागि भन्दा बढी भन्दा बढी राज्य दोहन, आफन्त भाइभतिजा सहितको परिवारवादमा राजनीतिलाई केन्द्रित गर्न हो भन्ने प्रष्टै छ । अघिल्लो नेकपाको तीन वर्षे शासनकालमा नदेखिएको तमासा एकवर्षे वर्तमान ‘लोकतान्त्रिक–वाम गठबन्धन‘ वाला सरकारमा देख्न पाइएको छ ।

आगामी गठबन्धन पनि यस्तै यस्तै कीर्तिमान राख्नकै लागि हो भन्नेमा कोही पनि भ्रममा पर्नु हँदैन । गठबन्धनमा थोरै फरक के भन्न सकिन्छ भने यदि वाम गठबन्धन हुने हो भने र विगतको गल्तीको कम्तीमा १० प्रतिशत मात्र सुधार हुने अपेक्षा गर्दा केही सामाजिक लोककल्याणकारी काम हुनेछ भन्ने आशा गर्न सकिन्छ । त्यसले कुशासनको कीर्तिमानको ग्राफ केही नेगेटिभ दिशमा ढल्कने अनुमान गर्र्नु पनि देशको निकै ठूलो उपलव्धी जस्तो लाग्दछ । यसबारेमा विशेष गरी कस्तो गठबन्धन किन र के का लागि भन्ने विषयमा अर्को श्रृंखलामा विश्लेषण गरिनेछ ।

माओवादीभित्र प्रचण्डको मनले वाम एकताका लागि बल गरिरहे पनि बस्तुगत अवस्था नदेखिएका कारण मुखले ओली विरोधी वर्तमान सत्तारुढ गठबन्धनकै निरन्तरताको स्थितिलाई नै बल दिइरहन बाध्य देखिएका छन् । उनको वाध्यतामा आफ्नै कन्भिक्सनका बावजदु वाम एकता चाहने बाह्य मित्रहरुको बचनको मान राखिदिने पनि निहितार्थ लुकेको छ । तर ओलीले भने एकताको विषयमा बोल्नुभन्दा बढी बाह्य मित्रहरुलाई प्रशन्न बनाउनेगरी एकाध अभिव्यक्ति दिनुका अलवा पार्टीभित्र राम्रै हुनेगरी चुपचाप काम गरिरहेको बताएर अन्य नेताहरुलाई आश्वस्त पार्ने काम भने गरेका छन् ।

संसद् विघटन प्रकरणदेखि यता एमाले नीतिविहीनताको कुहिरोमा मात्र रुमलिएको छैन कि तत्कालीन शक्ति सन्तुलनलाई आफ्नो अनुकूल बनाउने कार्यनीतिक दाउपेचमा पनि चुक्दै आएको छ । त्यसमाथि जनताको बहुदलीय जनवादको प्रस्थापना विरुद्ध दुई दलीय व्यवस्थाको वकालत गर्नु त्यही नीति विहीनताको परिचायक हो ।

गठबन्धन गर्नु परेकाले त्यस्तो विचार अघि सारिएको हो भन्ने मान्ने हो भने पनि जनताको बहुदलीय जनवाद अप्रसाङ्गिक भएको बताउन सक्नुपर्दछ । त्यो त झन एमालेको जातै जाने कुरा भयो । शायद त्यही भएर होला अध्यक्ष ओलीले नभएर यतिबेला दुई दलीय रागको हावा भर्ने काम महासिचव शंकर पोखरेलले गरिरहेका छन् । तर उनलाई त झन लाज लाग्नु पर्ने हो उनले दर्जनौ सन्दर्भमा जबजका बारेमा व्याख्यान मात्र होइन, लेखन पनि गरेका थिए विगतमा । कुनै कुरामा अप्ठेरो मान्न नपर्ने भनेको नै नीतिविहीनता हो । उता माओवादीले त नीतिसँग पारपाचुके गरेको झण्डै एक दशक नै हुन लागेको छ । तर पनि प्रचण्ड र माओवादी पार्टी ‘उग्रवामपन्थी‘ र ‘अतिवादी‘ भन्दै डामिनु चाहिं परिरहेकै छ । शायद यस्तै अभियोग पखाल्न पनि हुनसक्छ प्रचण्डको पनि जोड वाम गठबन्धनतिर भन्दा काङ्ग्रे्सी गठबन्धनकै पक्षमा रहेको हुनसक्छ ।

अर्कोतिर नेकाको शुद्धतावादी चुनावी राजनीति गत स्थानीय निर्वाचनबाट नराम्रोसँग हिलाम्मे भएको छ । नेका र माओवादीको चुनावी फ्युजन आफैमा रोमाञ्चकारी राजनीतिक परिघटना हो । तर शासकीय रबैयामा भने विचित्र एकता देखिनु झनै बढी अलौकिक छ । विगतमा नेकपा सरकारका बेला ओली र उनका सवैभन्दा बढी विश्वाययोग्य अर्थमन्त्री डा. खतिवडाका बीचमा समेत नदेखिएको ‘जुँगा चल्दा, कुरा बुझ्ने‘ तहको एकता र तादम्यता सम्माननीय प्रधानमन्त्रीकी कार्यकारी प्रमुख म्याडम र प्रचण्डका प्रतिनिधि जनार्दन शर्माका बीचमा अभूतपूर्व लय मिलेको ‘बजेट काण्ड‘ ले नै पुष्टि गरेको छ । यस हिसाबले पार्टी, नेता, तिनका आफन्त र विचौलिया मोटाउन बढी सजिलो वाम गठबन्धन भन्दा काङ्ग्रेसी गठबन्धन नै सफल देखिएको छ र देखिनेछ । अझै नीतिगत रुपमा भन्नु पर्दा काङ्ग्रेसी गठबन्धनको एकरुपतालाई बुझ्न ‘छपाई तथा स्टेशनरी विधेयक‘ भन्दा सजिलैगरी ‘नागरिकता विधेयक, एमसीसी र एसपीपी‘ प्रकरणले स्पष्ट गरेको छ ।

र यो पनि

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board