विपीको सिद्धान्त छाडेका छैनौँ : रामचन्द्र पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको सिद्धान्त कांग्रेसले नछाडेको बताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४०औँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ विपीको पथमा हिँडिरहेको बताए । विपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि विपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए । गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राखे ।

वरिष्ठ नेता पौडेलले प्रत्येक गाउँमा पोखरी र चौतारी बनाउनुपर्ने बताए । पोखरी र चौताराको सभ्यतालाई कायम गर्नुपर्ने बताउँदै पौडेलले भने, ‘पहिला पहिला सबै गाउँमा पोखरी र चौतारा हुन्थे, यसले गाउँको सुन्दरता थपेको थियो, आजभोलि हराउँदै जान थालेको छ । यसलाई संरक्षण गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले तनहुँमा कांग्रेसको नेतृत्वमा धेरै काम सुरु भएकाले यसलाई सम्पन्न गराउने जिम्मेवारी पनि कांग्रेसको भएको बताए । ‘मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन्, यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु,’ पौडेलले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति