काठमाडौं, ४ साउन । राजनीतिक विश्लेषक सीके लालले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमाले पहिलो दल बने आफूलाई आश्चर्य नलाग्ने बताएका छन् । एबीसी विशेष कार्यक्रममा समसायिक राजनीतिक एवम् आगामी संघ र प्रदेशको निर्वाचनको सम्भावित परिदृश्यबारे विश्लेषण गर्दै उनले सो कुरा बताएका हुन् ।
अहिले देशमा बलियो शक्तिकोरुपमा एमाले रहेको बताउँदै उनले यसैको डरले गठबन्धनलाई निरन्तर अगाडि बढाउने बुद्धि नेताहरुमा पलाएको उनले बर्ता । एमाले अध्यक्ष केपी शर्मा ओलीले ३, ४ वटा कुरामा राम्रै पकड बनाएका छन् । “खस, आर्य, हिन्दु पुरुष मतदातामा उग्र राष्ट्रवादको नारा उचालेका छन् ।
राष्ट्रवादी छवि र म धर्मनिरपेक्ष होइन भन्ने रुद्राक्षको माला लाएर मोदीसँग जानकी मन्दिर उभिन्छन् । राम्रो, नराम्रो जे भएपनि ट्याक–ट्याक् निर्णय लिन्छन् । चलाख र राम्रो भाषण राजनीतिकर्मीको आकर्षण हो । संगठनमा बलियो र चुनावमा चाहिने मनि, मसल दुवैमा दख्खल राख्छन् ।”, उनले एमाले बलियो शक्ति रहेको तर, यो कुरा रुचाउने, नरुचाउने आफ्नो ठाउँमा भएको पनि प्रष्ट पारे ।विगतमा नेपाली काँग्रेस पत्तासाफ भइसकेको भनिएपनि फेरी पहिलो स्थानमा आएको भन्दै उनले चुनावको अन्तिम समयमा लहर कता जाने हो अहिले नै भन्न नसक्ने भएपनि एमाले ठूलो दलको रुपमा आयो भने आफूलाई आश्चर्य नलाग्ने बताए । उनले एक्लै–एक्लै नलड्ने भएपनि नयाँ गठबन्धभन्दा अहिलेकै गठबन्धनमा सिट बाँडफाँडमा सहज हुने बताए । एक्लै गए फेरी ठूलो दल भएर आउन नसकिने कुरा काँग्रेसलाई आत्मानुभूति भएकै होला, त्यसैले लहडमा काँग्रेसले निर्णय गरेको होइन, प्रचण्डजीले पनि लहडमा यो निर्णय उचित भनेका होइनन्, उनले थपे । एउटै पार्टीभित्र पनि चुनावमा गुटहरुको टिकट वितरण मिलाउनुपर्ने जटिलता रहेको उनको भनाइ छ ।
दलहरुमा वैचारिक अवसान भइसक्यो, निर्दलीय बहुदलीयताको अवस्था छ । माओवादी नामधारीले भारतीय जनता पार्टीसँग भेटघाट गरेका छन् । समाजवादी नारा भएका शेरबहादुर देउवा र खड्गप्रसाद ओली सबैले त्यसै गरेकै छन्, उनले भने ।
सबैको आ–आफ्नो कम्पनी छ । राजनीतिक कम्पनी खोलेर एउटै मात्र उद्देश्य चुनाव लड्ने र बढीभन्दा बढी सिट ल्याउने हो । जसरी पनि जोसँग पनि गठबन्धन गरेर भएपनि सत्तामा पुग्ने र शासन गर्ने उद्देश्य छ । उनले जनताको सेवा गर्ने, देश विकास गर्ने, अर्थराजनीतिको सिद्धान्त अंगाल्ने कुरा गौण भएको बताए ।
प्रतिक्रिया