पूर्वसांसद इच्छाराज तामाङकी पत्नी पक्राउ

काठमाडौँ, ३ साउन । नेकपा एमालेका पूर्वसांसद समेत रहेका सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङ पक्राउ परेकी छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए। सिर्जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले २०७८ पुस २७ गते पक्राउ पूर्जी जारी गरेको थियो। इच्छाराजसँगै उनलाई पनि निक्षपकर्ताको बचत रकम ठगी गरेको मुद्दामा प्रतिवादी बनाइएको थियो।

इच्छाराज भने पहिल्यै पक्राउ परेका छन्। जिल्ला अदालतले इच्छाराज र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। पक्राउ परेका अन्य भने धरौटीमा छुटेका छन्।

सोल्टीमोड स्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभन समेतमा पारी ठूलो संख्यामा बचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ठगी गरेको आरोप उनीहरुमाथि छ।

सिर्जना सोही सहकारीकी लेखा समिति सदस्य हुन्। निक्षपकर्ताको ५ अर्ब ८४ करोड ४० लाख एक्काइस हजार ७ सय १३ रुपैयाँ १० पैसा ठगी गरेको आरोप छ।

विगत ३ वर्षदेखि आफूले वचत गरेको रकमको सावा तथा ब्याज पटक–पटक अनुरोध गर्दा समेत नपाएपछि १५३० जना पीडितले सीआईबीमा जाहेरी दिएका थिए।

सोही जाहेरीको आधारमा अनुसन्धान सकेर सीआईबीले २०७८ मंसिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो।

फरार रहेकी सिर्जनालाई मंगलबार रामशाहपथ, काठमाडौंबाट पक्राउ गरिएको एसपी महतोले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति