सिसेक्वा तङनाम मनाउँदै लिम्बू समुदाय

तेह्रथुम, १ साउन । लिम्बु समुदायका आफ्नै मौलिक पर्व छन् । तङनाम अर्थात् पर्वहरूमध्ये सिसक्वा तङनाम पनि लिम्बुहरूको एक पर्व हो ।

१ साउनमा लिम्बू समुदायले यो पर्व मनाउँदै आएका छन् । यो समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ ।

लिम्बुहरूले सिसेक्वा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजंगलतिर गई साउने सिसेक्पा तङ्नामका लागि आवश्यक अन्न, फलफूल र पातलगायतका वस्तुहरू संकलन गरी ल्याउने गर्छन् । जसलाई दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहेको नेपाल आदिवासी जनजाति संंघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङले बताए ।

सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । सिसेक्वा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो(मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन्।

प्रत्येक घरका हिँड्डुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गरिन्छ ।

किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊस अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख(पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै आएको लिम्बू भाषा तथा संस्कृति विकास केन्द्रका अध्यक्ष दिल पाक्साँवाले बताए ।

आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी जनजाति पूर्वका लिम्बूहरूले साउने सङ्क्रान्ति पर्वलाई सिसेक्वा तङ्नामको रूपमा मनाउँदै आएका किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताए । पछिल्लो समय आफ्नो मौलिक पर्व संरक्षणमा लिम्बू समुदाय जुट्न थालेका छन् । स्थानीय सरकारले समेत बिदा दिन सुरु गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति