भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १ साउन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने भएको छ । आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले सोनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगमका एक अधिकारीले बताए । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ ।

एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अमेरिकी बहुराष्ट्रिय सीटी ग्रुपको प्रक्षेपण छ । सो ग्रुपले कच्चा तेलको मूल्य २०२२ को अन्त्यसम्म घटेर ६५ डलरसम्म झर्न सक्ने अनुमान गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति