दिमागलाई स्वस्थ राख्न फुर्तिलोगरी हिँड्नुपर्छ !

न्युयोर्क टाइम्स । नाच्ने या स्ट्रेचिङ गरेर एक्सरसाइज गर्नेको तुलनामा ६ महिनासम्म हिँड्न लगाइएका वृद्ध महिला र पुरुषहरुको मस्तिष्कको महत्वपूर्ण भाग, ‘ह्वाइट म्याटर’ र स्मरण शक्तिमा अधिक सुधार देखाएको छ । 

शारीरिक व्यायाम अर्थात एक्सरसाइजले हाम्रो मस्तिष्कको ह्वाइट म्याटरलाई ताजा र सक्रिय बनाउन मद्दत गर्दछ जसले सम्भावित रुपमा उमेर गएसँगै हाम्रो सोच्ने र सम्झने क्षमतामा सुधार ल्याउन सक्ने ‘ब्रेन हेल्थ’ सम्बन्धी नयाँ अध्ययनले देखाएको छ । 

यसमा हाम्रो मस्तिष्कको सेल्सलाई सहायता गर्ने र जोड्ने ह्वाइट म्याटर मान्छे शारीरिक रुपमा बढी सक्रिय भएमा ‘रिमोडल’ अर्थात पुर्नमर्मत हुने गरेको रिसर्चले देखाएको छ । तर शारीरिक रुपमा सक्रिय नभएका व्यक्तिहरुमा चाहिँ त्यही ह्वाइट म्याटर खुम्चिने र उध्रिने गरेको यसमा पत्ता लागेको हो । 

यो खोजमा हाम्रो दिमागले कसरी निरन्तर आफूलाई बदलिरहन्छ भन्ने स्पष्ट पारेको छ । हामी कसरी बाँचिरहेका छौँ, हाम्रो शरीर केकसरी हलचल गरिरहेको छ भन्ने जस्ता पक्षले दिमागको स्वास्थ्य निर्धारण गर्न सक्ने यसले देखाएको हो । 

वैज्ञानिक हिसाबमा वयश्क व्यक्तिको दिमाग लचिलो हुन सक्छ भन्ने खोज एकदमै नयाँ मानिएको छ । किनकी १९९० को दशकसम्म पनि अधिकांश वैज्ञानिकहरुले बाल्यकालपछि मान्छेको दिमाग भौतिक रुपमा परिवर्तित हुँदैन या एकै किसिमको रहिरहन्छ भन्नेमा विश्वास गर्दथे । उनीहरुको मान्यता अनुसार हामी जन्मदैखेरि अधिकतम ‘ब्रेन सेल्स’ लिएर जन्मिएका हुन्छौँ र पछि गएर त्यो भन्दा धेरै सेल्स सिर्जना गर्न सक्दैनौँ भन्ने थियो । यसले हाम्रो मस्तिष्कको संरचना र यसको काम गर्ने क्षमता उमेरसँगै केबल घट्दै मात्र जानेछ भन्ने जस्तो अर्थ दिएको थियो । 

तर सौभाग्यवश् विज्ञान तथा प्रविधिमा तिव्र विकास भयो र उनीहरुको उक्त विचार अनि निराशावादी प्रक्षेपण उल्ट्याउन सकियो । 

यसमा भर्खर जन्मिएको शिशुको सेलहरु पहिचान गर्न प्रयोग गरिएको जटिल अध्ययन शैलीले के देखायो भने, मस्तिष्कका केही भागहरुमा हामी वयश्क जीवनमा पुग्दासम्म पनि न्युरोन्सहरु निर्माण भइरहन सक्छन् जुन प्रक्रियालाई ‘न्युरोजेनेसिस’ भनिन्छ । र यसपछिका फलोअप अनुसन्धानहरुमा एक्सरसाइजले न्युरोजेनेसिस प्रक्रियालाई अझ तिव्रता दिने या सुधार ल्याउने तथ्य स्थापित भयो । 

जस्तै उदाहरणका लागि एउटा दौडिरहेको मुसाले सक्रिय नभएको जन्तुको तुलनामा तीनदेखि चार गुणा बढी नयाँ ब्रेन सेल्स उत्पादन गर्न सक्ने पाइएको हो । यसरी नियमित एक्सरसाइज गरेमा दिमागको आकृति पनि बढ्दै जान्छ । अझ विस्तृतमा भन्नुपर्दा जीवनभर हाम्रो शरीरमा आउने परिवर्तन र हामीले कसरी एक्सरसाइज गरिरहेका छौँ भन्ने त्यही अनुरुप हाम्रो दिमागले पनि आफूलाई बदलिरहेको हुन्छ ।  

मस्तिष्किमा आउने त्यस प्रकारको परिवर्तन सम्बन्धी पछिल्ला केही अध्ययनहरु ‘ग्रे म्याटर’ मा पनि केन्द्रित रहेको पाइएको छ । ग्रे म्याटरमा न्युरोन्सहरु हुन्छन् र यसै मार्फत हामीमा सोच पलाउने र स्मरण क्षमता विकिसित हुन्छ । 

यसकारण एकदम कमै खोजहरुमा मात्र ह्वाइट म्याटरबारे अनुसन्धान गरिएको थियो । ‘नर्भ फाइबर’ ले लपेटिएको दिमागी तत्व, ‘ह्वाइट म्याटर’ ले न्युरोन्सहरुलाई जोड्दछ जुन दिमागी स्वास्थ्यका लागि एकदम महत्वपूर्ण मानिन्छ । तर त्यही ह्वाइट म्याटर, हाम्रो उमेर ढल्किदै जाँदा पातलो हुने, कमजोर हुने र त्यसमा ससाना घाउ उत्पन्न हुँदै जान सक्छ जसले दिमागी क्षमता कम गराउँछ । र दुःखवश यसलाई तुलनात्मक रुपमा कम लचिलो, या हाम्रो जीवनशैलीमा आएका बदलावसँगै समायोजित हुन कठिन पर्ने तत्व मानिदै आएको थियो । 

तर कोलोराडो युनिभर्सिटीकी न्युरोसायन्स प्रोफेसर डाक्टर एग्निएज्का बर्जाइन्स्कालाई विज्ञान समुदायले ह्वाइट म्याटरलाई कम महत्व दिइरहेको आभास भयो । उनको बुझाइमा मान्छेले शारीरिक क्रियाकलाप बढाउँदा ह्वाइट म्याटरले पनि ग्रे म्याटर जत्तिकै स्तरमा आफूलाई बदल्न सक्छ । त्यसैले गत जुनमा प्रकाशित ‘न्युरोइमेज’ जर्नलमा उनले आफ्नी विद्यार्थी र सहकर्मीहरुसँग मिलेर यस सम्बन्धी गम्भीर खोज सुरु गरिन् । 

यसमा उनीहरुले २५० त्यस्ता वृद्ध महिला र पुरुषहरु संकलन गरे जो शारीरिक रुपमा सक्रिय थिएनन् तर त्यसबाहेक स्वस्थ नै थिए ।  यसपछि उनीहरुले ल्याबमा ती सहभागीहरुको फिटनेस र दिमागी क्षमता अनि तिनको ह्वाइट म्याटरको गतिविधि र स्वास्थ्य अवस्थालाई विशेष प्रकारको एमआरआइ स्क्यानको प्रयोग गरि जाँच गरेका हुन् । 

उनीहरुले सहभागीलाई तीनवटा प्रकारमा विभाजन गरेका थिए – एउटा समुहलाई हप्तामा तीनपटक स्ट्रेचिङ, ब्यालेन्स ट्रेनिङ जस्ता कार्यक्रममा संलग्न गराइएको थियो भने अर्को समुहलाई हप्तामा तीन दिन ४० मिनेट एकसाथ फुर्तिलोसँग हिँड्न लगाइएको थियो । तेस्रो समुहलाई चाहिँ हप्तामा तीन दिन सामुहिक रुपमा नाच सिकाइएको थियो । यी तीनैवटा समुहले ६ महिनासम्म यस्ता अभ्यास जारी राखेका हुन् र अन्त्यमा ल्याबमा तिनको स्वास्थ्य परीक्षण गरिएको थियो । 

यसरी नतिजामा धेरै सहभागीको शरीरसँगै तिनको मस्तिष्कमा पनि बदलाव आएको पत्ता लाग्यो । हिँड्ने र नाच्ने समुहका सहभागी तुलनात्मक रुपमा बढी फिट थिए । तर त्यो भन्दा महत्वपूर्ण कुरा, तिनको दिमागको ह्वाइट म्याटरमा पनि केही परिवर्तन आएको पाइयो । नयाँ स्क्यानमा तिनको मस्तिष्कको केही हिस्साका ‘नर्भ फाइबर’ र पहिले खुम्चिएका भागहरु अहिले ठूलो भएको र सुध्रिएको देखियो । 

यसमा पनि विशेषगरी हिँड्ने समुहका सहभागीहरुले स्मरण सम्बन्धी परीक्षामा धेरै राम्रो नतिजा ल्याएका थिए जबकी नाच्ने समुहले त्यही अभ्यासमा त्यत्तिको राम्रो प्रस्तुती दिन सकेनन् । 

उता केही स्ट्रेचिङ मात्र गरेका शारीरिक रुपमा त्यति सक्रिय नभएका समुहको ह्वाइट म्याटरको स्वास्थ्यमा चाहिँ ६ महिनामै गिरावट आएको पाइयो । उनीहरुको ह्वाइट म्याटर ठूलो स्तरमा पातलिरहेको थियो भने दिमागी अभ्यासमा पनि उनीहरुको अङ्क घट्दै गएको थियो । 

यसरी एक्सरसाइज गर्नेहरुका लागि यो खोज अत्यन्तै प्रशंसनीय साबित भएको डाक्टर बर्जाइन्स्का बताउँछिन् । उनले भनिन्, “ह्वाइट म्याटर पनि सक्रिय र परिवर्तित हुने किसिमको हुन्छ । त्यसैले हामी जुनसुकै उमेरको भएपनि हप्तामा केही दिन फुर्तिलो गरी हिँड्नु मात्र पनि त्यसको टिस्युलाई स्वस्थ राख्न अनि स्मरण शक्ति गुम्दै जानबाट रोक्नका लागि पर्याप्त हुनेछ । ”

वास्तवमा डाक्टर बर्जाइन्स्का र उनका सहकर्मीहरुले हिँड्नु भन्दा नाच्ने जस्तो शारीरिक अभ्यासले ह्वाइट म्याटर र दिमागी क्षमतामा सुधार ल्याउने अपेक्षा गरेका थिए । किनकी नाचमा अभ्यास सहित सिक्ने कुराहरु पनि हुन्छन् । तर नतिजामा हिँड्नु नै ह्वाइट म्याटरको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी हुने गरेको देखियो । त्यसैले पनि यो निष्कर्षले ह्वाइट म्याटरलाई स्वस्थ राख्न हिँड्न थाल्नैपर्ने तथ्यलाई बलियो रुपमा प्रस्तुत गर्न सकेको उनले बताइन् । 

द न्युयोर्क टाइम्सबाट 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board