नामिबियासँग नेपालको लज्जास्पद हार

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।

नामिबियाले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा मात्र १३७ रनमा सीमित भयो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोड्दा ओपनर आसिफ शेखले ३२ रन जोडे । त्यस्तै, आदिल आलमले २० रन जोडे । अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् ।

जारी शृंखलामा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो ।

यसअघि, टस जितेर ब्याटिङका लागि आएका नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर १९९ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका कप्तान जेरार्ड इरास्मसले ५३ रनको अर्धसतकीय इनिङ खेले । उनले ७० बलमा चार चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, डेविड वाइजेले ३४ डिभान ला ककले २७ र जेजे स्मिथले समान २७ रन बनाए । यस्तै, जन निकोल लोफ्टी इटोन र रुबेन ट्रम्पेलम्यानले १९–१९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । यस्तै, सोमपाल कामीले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा बसिर अहमेद एक विकेट हात पारे ।

लिग २ मा १९ खेल खेलेको नेपाल १७ अंकसहित तालिकाको छैटौँ स्थानमा झरेको छ । नेपालमाथिको जितपछि नामिबिया भने १८ खेलमा १८ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति