काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चीनबाट नाका खोल्दा आफू २०७३ सालमा प्रधानमन्त्री पदबाट हट्नु परेको बताएका छन् ।
नेपाल–चीन मैत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपाल भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘चीनतिरबाट नाका खोलेवापत मैले पहिलोपटक प्रधानमन्त्रीबाट हट्न परेको होइन र ?’ अोलीले प्रश्न गर्दै भने, ‘चीनबाट फर्केलगत्तै हटाउन क्याम्पियन चलेको होइन र ?’
२०२६ सालमा उत्तरतिरका १७ ओटा चेकपोस्ट हटाएवापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाएको स्मरण गर्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेवापत र चुच्चे नक्सा छापेवापत आफू दुवैपटक सत्ताच्युत भएको दाबी गरे ।
ओलीले २००७ सालदेखि २०१२ सालसम्म नेपालको सार्वभौमिकता सबैभन्दा कमजोर बनेको भन्दै अहिले त्यही अवस्थामा आएको टिप्पणी गरे । गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँगै सौदाबाजी गरेको ओलीले आरोप लगाए ।
उनले भने, ‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुन्छ र त्यसका विरुद्ध एकजुट हुन्छन् । अपवित्र साँठगाँठ हुन्छ भन्ने थाहा थियो । त्यो थाहा भएरै गरेको हो । चीनतिरका नाका खोलेवापत पहिलोपटक चीनबाट म फर्केलगत्तै हट्नुपरेको होइन ? १७ ओटा चेकपोष्ट हटाएवापत कीर्तिनिधिले छाड्नुपरेको थियो । उत्तरतिर नाका खोलेवापत, चुच्चे नक्सा छापेवापत मैले सत्ताबाट हट्नुपरेको हो ।’
ओलीले देशभक्ति र राष्ट्रिय हितको पक्षमा बोल्नेहरुलाई हटाउन सौदाबाजी हुुने गरेको बताए ।
प्रतिक्रिया