गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै वाइसिएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गर्दै नेकपा (माओवादी केन्द्र)निकट वाइसिएलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा (एमाले)को अर्थ विभागमा बसेर राष्ट्र बैंक चलाइरहेको भन्दै गभर्नर अधिकारीमाथि प्रश्न उठिरहेको बेला वाइसिएलले प्रधानमन्त्रीलाई भेटेर कारबाही गर्न माग गरेको हो । शनिबार बिहान प्रधानमन्त्री देउवालाई ७ बुँदे ज्ञापनपत्र बुझउँदै वाइसीएलले गभर्नर अधिकारीमाथि तत्काल एक्सन लिन र छानबिन गर्न माग गरेको हो ।

वाइसीएलको प्रतिनिधि टोलीले प्रधानमन्त्रीसँगको भेटमा गभर्नर अधिकारी एमालेमा रहेर राष्ट्र बैंक चलाइरहेको र उनको शैक्षिक योग्यतासमेत नक्कली भएको आरोप लगाउँदै बर्खास्त गर्न माग गरेको छ ।

वाइसिएलले आर्थिक संकट र विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरुको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नुपर्ने वाइसिएलको माग छ ।

यस्तै, किसानलाई समयमै मल, बिउको उपलब्ध गराउन, विद्यार्थीलाई पाठ्यसामग्रीको व्यवस्था गर्न र सामाजिक विकृति विसंगति तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकूल परिमार्जन गरी तुरुन्त नियन्त्रण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विवादित गभर्नर अधिकारीका विषयमा कानुनविद्सँग परामर्श गरेर आवश्यक कदम चाल्ने बताए ।

गभर्नर अधिकारी एम.अधिकारीको नाममा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको भन्दै आलोचना भइरहेको छ । उनीमाथि कारबाहीको माग उठेको छ । तर, गभर्नर अधिकारीले आफू कुनै दलमा आबद्ध नरहेको बताएका छन् । एमालेले पनि एम.अधिकारी भनेको व्यक्ति गभर्नर अधिकारी नभएर अर्कै व्यक्ति भएको बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति