काठमाडौं, ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।
तीन दिने भारत भ्रमणका लागि दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको बताएका छन् ।
तत्कालीन राजदूत विनयमोहन क्वात्राले भारत भ्रमण मिलाउने तयारी गरे भए पनि समय नमिलेको नभएको भन्दै प्रचण्डले क्वात्रा विदेश सचिव नियुक्त भएपछि आफ्नो सल्लाहमा अहिले भारत भ्रमण तय भएको जानकारी दिए ।
‘बाहिर देख्दामात्र आकस्मिक देखिएको मात्र हो । क्वात्रा राजदूत हुँदा उहाँले भारत भ्रमण मिलाउने प्रयास गर्नुभयो । पछि उहाँ विदेश सचिव नियुक्त भएपछि मलाई समय कहिले मिलाउँ भनेर सोध्नु भयो । मैले जुलाई १५ तिर राख्नु न भनेँ । अहिले यही समयमा भारत भ्रमण तय भएको हो,’ प्रचण्डले भने ।
प्रचण्डले भने, ‘यो भ्रमण महत्वपूर्ण छ । नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदैछु । उत्साहको साथ जाँदैछु ।’
भाजपा र माओवादी केन्द्रबीचको सम्बन्ध सुदृढका लागि पनि आफ्नो भ्रमण भएको उनले बताएका छन् । ‘भाजपा उताको सत्तारुढ पार्टी हो । अहिले हामी पनि यता सत्ता घटक हौँ । यो भ्रमण दुई पार्टीबीचको सम्बन्ध मात्र नभएर दुई देश र जनता-जनताबीचको सम्बन्ध सुदृढका लागि पनि हो,’ दाहालले भने । दाहालले नेपाल-भारतबीचमा देखिएका सीमा विवाद पनि कूटनीति र वार्तामार्फत समाधान हुनुपर्नेमा जोड दिए ।
भाजपानिकट थिंक ट्यांक इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । आइतबार बिहान प्रधानमन्त्री मोदी र त्यसलगत्तै भाजपा अध्यक्ष जेपी नड्डालाई भेट्ने तयारी छ । दाहालको भ्रमण टोलीमा स्वकीय सचिवहरू गंगा दाहाल र रमेश मल्ल पनि छन् । दाहाल साउन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने जानकारी दिएका उनले चीन भ्रमणमा पनि चाँडै नै जाने जानकारी दिए ।
चार दिने नेपाल भ्रमण सकेर हालै स्वदेश फर्किएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिँदै प्रचण्डले आफू चीन भ्रमणमा आउने वचन दिएको बताए ।
प्रतिक्रिया