संसदको शून्य समय : ओली र गभर्नर बाउछोरा भएको भन्दै घोचपेच

काठमाडौं २९ असार : नेकपा माओवादी केन्द्र की सांसद अञ्जना बिशंखे र अमृता थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न संसदमा माग गरेका छन् ।
माआवादीकै सांसद गजेन्द्र महतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले बाँधेर राख्नुपर्ने बताए। उने दुवै बा र छोरा भएर देशलाई श्रीलंका बनाएर देशै जलाउन लागेको टिप्पणी गरे। उनले बा बार्दलीमा बसेर र छोरो राज्यको ढुकुटीमा बसेर देश श्रीलंका बनाउन खोजेको आरोप लगाए।

बुधवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिशंखे र थापाले गभर्नर अधिकारीको विषय उठाएका हुन्। उनीहरु दुवै जनाले नेकपा एमालेको अन्तरपार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ भनि समावेश गरिएका व्यक्ति नै भएको भन्दै छानबिन हुनुपर्ने बताए ।

सांसद थापाले भनिन्, ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एमालेका नेता महाप्रसाद अधिकारी र एम अधिकारी खोटाङ हाल ललितपुर बस्ने व्यक्ति एउटै रहेको प्रमाण एमालेका खोटाङकै नेता कार्यकर्ता सबै सर्कुलरहरु र प्रमाणहरु यत्रतत्र छन्। चाहेको खण्डमा त्यसलाई पेस गर्न सकिन्छ। अर्थ तथा योजना विभागमा अन्तरपार्टी निर्देशिकामा एम अधिकारी खोटाङ उल्लेख हुनु कुनै संयोग होइन। राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली अनुसार पनि गभर्नर कुनै पनि पार्टीको कुनै पनि नेता वा पार्टीमा आवद्ध हुन सक्दैन भनेर उल्लेख गरिएको छ। गभर्नर सरकारको मातहतको कर्मचारी हो।’
माओवादी सांसदको जबाफमा एमाले सांसद कृष्णभक्त पोखरेलले सत्तापक्षको सांसदहरुले अर्थमन्त्रीको अनैतिक काम लुकाउनको लागि गभर्नरमाथि प्रश्न उठाएकोआरोप लगाए । उनले गभर्नर अधिकार आफैँले यो विषयमा स्पष्टीकरण दिएपछि संसदमा प्रश्न उठाउनुको औचित्य नभएको बताए।
माओवादी सांसद सांसद अमृता थापाले राष्ट्र बैंक ऐन विपरित अमुक पार्टीको कार्यकर्ता राष्ट्र बैंकको गभर्नर भए तुरुन्त छानबिन गर्न माग गरिन्। उनले विश्व राजनीतिक र अर्थतन्त्रको परिस्थितीले अर्थतन्त्रको गम्भिरता चर्चा मात्रै नभएर अत्याश्वयक भएको बताइन्। उनले नेकपा एमालेप्रति लक्षित गर्दै यो वर्षको बजेटमा चक्लेट खानुभन्दा दुध पिउनतिर केन्द्रित भएर आएकाले ठिकै होला भन्ने लाग्दै गर्दा पुलपुलिएको छोराले नाई मलाई त्यही केटी चाहिन्छ भनेझैँ प्रतिपक्षले गरेर अर्थमन्त्री हटाएको बताइन्।

सांसद पोखरेलले अर्बौं रुपैयाँलाई वैध बनाउन गठबन्धन सरकारले दिएको आदेश नमान्दा श्रीलंका हुने रहेछ भन्ने सत्तापक्षका सांसदहरुको बुझाइप्रति दयाभाव लागेको बताए।

उनले भने, ‘एम अधिकारी भन्ने व्यक्ति नेकपा एमालेको अर्थ विभागमा रहेको उहाँ राष्ट्र बैंकको गभर्नर भनेर सत्तापक्षका संसदहरुले अर्थमन्त्रीको असक्षम लुकाउनका लागि विषयान्तर गरी मनोगत भावना राखेको देखेर आफैँलाई दयाभाव जागिरहेको छ। स्वयं गभर्नर महाप्रसाद अधिकारीले म कुनै पार्टीमा छैन भनि वक्तव्य दिइसकेको विषय संसदमा प्रश्न उठाउने विषय पनि होइन। अर्बौं रुपैयाँलाई वैध बनाउन गठबन्धन सरकारले दिएको आदेश नमान्दा श्रीलंका हुने रहेछ भन्ने माननीय ज्युहरुको बुझाई हो भने त्यो बुझाईमा हाम्रो दयाभाव बाहेक केही रहनसक्दैन। माफियाहरुलाई कर छुट दिन नमाने बापत वा रकम छुट नदिए बापत गभर्नर जस्तो संवेदशील विषयमा गभर्नरलाई निलम्वन गर्ने अनि अहिले आफ्ना सांसदहरुलाई यो विषय संसदमा उठाएर अर्थ मन्त्रालयमा भएको भ्रष्टाचारलाई विषयान्तर गर्ने प्रयास गरिएको छ।’

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले पनि गभर्नर अधिकारी माथि कटाक्ष गरे। उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने बताए। थापाले तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकासिँदो मूल्यवृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने र परियोजनामा आधारित कर्जा र बैंकिङ प्रणाली भन्दा बाहिर रहेको पैसा सिस्टममा ल्याउने कुरा र केही व्यवसायिक घरानाको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्ने बताए।

उनले शेयर बजारलाई सुधार गर्ने भनेर गत वर्ष ४÷१२ को नीति ल्याइएपनि त्यो नीतिले ठूलालाई पोस्ने र सानालाई कस्ने काम गरेको दाबी गरे। सांसद थापाले राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआएपछि अब त्यो नीति खारेज गर्नुपर्ने र खारेज नभए लाखौं शेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा पुग्ने बताए।

उनले यो सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कटाक्ष गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका अर्थ योजना विभागका सदस्य मित्र एम अधिकारीलाई नभएको बताए।

एमाले सांसद गणेशकुमार पहाडीले गठबन्धन सरकार गठन भएको एक वर्षमा सबैभन्दा बढी विकृति र भ्रष्टाचार बढेको बताए। उनले वर्तमान सरकारले पेस गरेको राष्ट्रिय सभामा संवैधानिक परिषद् विधेयक मितको तिल्के घोडा खरिद गर्ने कार्यविधि जस्तो भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति