नेपाल नामिबियासँग पराजित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राति स्कट्ल्यान्डको न्यू काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसँगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट सुरुवात गरेको हो ।

२२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८० रनमा समेटियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए । यस्तै, देव खनालले ३४, कुशल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४, आदिल आलम र सोमपाल कामी समान १० रन जोडे ।

यस्तै, दिपेन्द्रसिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट हुँदा उपकप्तान रोहित पौडेल र कप्तान सन्दीप लामिछाने शून्यमा पेभेलियन फर्किए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो ।

नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक ६० रन बनाए । यस्तै, डिभान ला ककले ४१, गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए । यस्तै, सोमपाल कामीले २, करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

हारसँगै नेपाल डिभिजन लिग २ को अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ । नामिबिया १६ खेलमा १६ अंक जोडेर पाँचौँ स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति