उपराष्ट्रपतिसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका थिए । दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिए । उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउँदै नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्य गर्नुपर्ने बताए । त्रिपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने बताए ।

भेटमा उपराष्ट्रपतिले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेकामा जोड दिए । नेपालले सन् २०३० सम्म मध्य आय भएको देश बन्ने लक्ष्य राखेको र उक्त लक्ष्य प्राप्तिमा भारतको सकारात्मक सहयोगको आवश्यकता रहेको बताए । उनले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताए ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको र नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताए । उनले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने प्रयास गर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति