नागरिकता विधेयक फिर्ता लिएर नयाँ पेस गरिँदै

काठमाडौँ । लामो समयदेखि विवादमा परेर अघि बढन नसकेको नागरिकता विधेयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ ।

गत मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ नागरिकता विधेयक पेस गर्न लागेको हो ।

विगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुँदालाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेस गर्न लागेको हो ।

‘जन्मसिद्धका सन्तानले कानुन नहुँदा नागरिकता पाउन सकिरहेका थिएनन्, नयाँ विधेयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्ने छ,’ लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले भने । उनका अनुसार जन्मसिद्धका सन्तानले वंशजले सरह नागरिकता पाउने पूर्ववत् अधिकार संसदमा नागरिकता विधेयक अडकिँदा कार्यान्वयन हुन सकेको थिएन ।

२२ गते प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका महतोलाई नयाँ नागरिकता विधेयक २३ गतेको बैठकमा पेस गर्न लागेको जानकारी गृह मन्त्री बालकृष्ण खाडले दिएको जनाएका थिए । नागरिकता विधेयक पारित गराउनका लागि मुख्यतः लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले सरकारलाई संसद र ज्ञापन पत्रमार्फत् झकझकाउँदै आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति