माओवादी नेता मण्डलले कार्यकर्तालाई खुट्टा ढोगाएको भन्‍दै आलोचना

विराटनगर । नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले कार्यकर्तालाई खुट्टा ढोकाएको भन्दै आलोजना भएको छ ।

शनिबार बेलुका आफ्नो विवाहको वार्षिकोत्सव कार्यक्रममा मण्डलको खुट्टा कार्यकर्ताले ढोगेका थिए । त्यसपछि नेता मण्डललको व्यापक आलोजना भएको छ ।

वैवाहिक वर्षगाँठ मनाउन भन्दै शनिबार बेलुका देवा यादवसहितका माओवादीका कार्यकर्ताहरु मण्डल निवासमा पुगेका थिए । विराटनगर महानगरपालिका वडा नं. १ स्थित मण्डलको घरमा केक काटेपछि कार्यकर्ताहरुलाई मण्डलले टीका लगाइदिएका थिए । टीका थापेका कार्यकर्ता देवा यादवसहित अरूले पनि निहुरिएर मण्डलको खुट्टा छुएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा खुट्टा छोएका कार्यकर्तालाई मण्डलले रोक्न खोज्दैनन् ।

सो भिडिओ सेयर गर्दै कार्यकर्तालाई खुट्टा ढोगाएको भनेर मण्डलको आलोचना गरिरहेका छन् । मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मण्डल पूर्वमन्त्री पनि हुन् ।

उनले यो आफूहरुको पारिवारिक संस्कार भएकाले आलोचनाको विषय नभएको बताए । ‘आफूभन्दा जेठोलाई ढोग्ने हाम्रो परम्परा छ,’ उनले भने, ‘कार्यकर्ताको रूपमा होइन, आशिर्वादका लागि खुट्टा ढोगेजस्तो गरेका हुन्, म पनि अग्रजलाई ढोग्छु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति