काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनमा जुट्दा पार्टीले विधानअनुसार काम गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले स्थानीय तहको निर्वाचनमा पार्टीका सबै शक्तिलाई परिचालन गर्नुपर्दा विधानअनुसार काम हुन नसकेको बताए ।
“पार्टी विधानले महाधिवेशन भएको छ महिनाभित्र पार्टी पदाधिकारी नियुक्त गर्नुपर्ने, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने, विभाग गठन गर्नुपर्नेलगायतको व्यवस्था गरेको छ, पार्टी स्थानीय तह र सरकारको काममा लाग्दा उक्त कार्यहरू गर्न ढिलाइ भएको हो,” उनले भने । कांग्रेसले पार्टीको विभाग, केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी मनोनयनलाई चाँडो पूर्णता दिने उनको भनाइ छ ।
पूर्वमन्त्री लेखकले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएकोसमेत बताए । “जे उद्देश्यका साथ सरकार गठन भएको हो, अहिले पनि सोहीअनुरूप काम भइरहेको छ, स्थानीय तहमा पनि पार्टीले राम्रो नतिजा हासिल गरेको छ, सभापति देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल हुनुहुन्छ,” उनले भने ।
नेता लेखकले संविधानको रक्षा गर्दै देशलाई विकास गर्न वर्तमान पाँच दलीय गठबन्धन निर्माण भएको बताए । सरकारले आवधिक निर्वाचनलाई प्राथमिकता दिएको उनको भनाइ थियो ।
प्रतिक्रिया