प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरुले निजगढ विमानस्थलको स्थलगत निरीक्षणमा जाँदै

  • इन्दिप कोइराला

बारा । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौँबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा आउन लागेको गठबन्धनका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा आउन लागेका हुन् ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा आउन लागेका हुन् । ‘भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने वा नबढाउने विषयमा सरकारले आवश्यक निर्णय गर्ने छ,’ ती नेताले भने । सर्वोच्च अदालतले गत बुधबार विमानस्थलसम्बन्धी मुद्दाको फैसला गर्दै निमार्ण गर्ने जिम्मा सरकारको हातमा दिएको छ ।

जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ ।

यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनशन बिहीबारदेखि अन्त्य भएको छ । विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको पूर्णपाठलाई सकरात्मक भन्दै समितिले २४ दिन अघिदेखि गर्दै आएको रिले अनशन अन्त्य गर्ने निर्णय गरेको हो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल अनशनकारीलाई जुस खुवाएर अनसन तोड्न लगाए । विमानस्थल निर्माणको माग राखेर निजगढको सहिद चोकमा अनशन हुँदै आएको थियो ।

निजगढ विमानस्थल निर्माणको माग राखेर समितिले जेष्ठ २४ गतेदेखि निजगढको सहिद चोकमा रिले अनशन सुरु गरेको हो । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुले विमानस्थल निर्माण नगर्ने अदालतको यसअघिको जेष्ठ १२ को फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै सोही दिनदेखिनै राँके जुलुस, पूर्वपश्चिम लोकमार्गमा चक्काजाम र प्रदर्शन गर्दै आएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board