समाजवादलाई केन्द्र बनाएर अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकी छन् । ललितपुरमा आयोजित नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उनले सबै राजनीतिक दलका नेताले व्यक्तिगत आग्रह आकांक्षाभन्दा माथि उठ्ने हो भने समाजवाद सम्भव रहेको बताइन् ।

“कसैको इच्छाले भएन भने पनि वस्तुगत परिस्थितिले सबैलाई समाजवादमा पुर्‍याउँछ,” उनले भनिन्, “सबैको सचेत प्रयत्नद्वारा एकीकृत कम्युनिस्ट आन्दोलन, समाजवादको आधार निर्माण र समाजवादको कार्यान्वयन गर्दै साम्यवादसम्म पुग्नुपर्छ ।” देशको मौलिकता र विशिष्टतामा समाजवादी आन्दोलनलाई अगाडि बढाउन दलहरु सफल भएको स्मरण गर्दै मन्त्री भुसालले वामपन्थी कम्युनिष्ट मात्र होइन लोकतान्त्रिक शक्तिलाई पनि साथ र सहयोगमा लिएर संघीय लोकतन्त्रिक गणतन्त्रसम्म आइपुगिएको बताइन् ।

“हामीले अबको यात्रा समाजवादको भनेका छौँ, त्यो कुनै देशको यान्त्रिक नक्कल हुने छैन, त्यो रुस, चीन, क्युवा र उत्तर कोरिया जस्तो हुने छैन । हाम्रै देशको मौलिक ढंगबाट समाजवादमा पुग्नेछौँ,” उनले भनिन् । आर्थिक र सामाजिक विकास, सामाजिक न्यायमा आधारित वितरण प्रणाली र समाजवादको आधार तयार पारेर देशलाई समाजवादमा लैजाने लक्ष्य लिइएको उनको भनाइ छ । सत्तामा रहे वा सत्ता बाहिर रहे पनि नेपाली समाजलाई समाजवादी बाटोमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले वामपन्थी कम्युनिस्ट एउटै पार्टीमा हुनुपर्छ भनी जनताको अभिमत पनि सोही ढंगले प्रकट भएको बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति