साँगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड २९ लाख रुपैयाँ बजेट

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । १२औँ नगरसभाअन्तर्गत उपप्रमुख सीता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । नगरपालिकाले कृषि क्षेत्रका लागि ४ करोड विनियोजन गरेको छ ।

त्यसैगरी पशु विकास सेवाका लागि २ करोड र रोजगार सिर्जनाका लागि १ करोड , स्वास्थ्य तर्फ ३ करोड ५० लाख विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ ४ करोड ५० लाख , नगर गौरवका योजनाका लागि २ करोड विनियोजन गरिएको छ ।

चालु आवमा सञ्चालन भएका अधुरा योजनाहरुलाई पूरा गर्न, संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त अनुदानका कार्यक्रम सञ्चालन गर्नका लागिसमेत बजेट विनियोजन गरिको उपप्रमुख सिता थापाले नगरसभामा प्रस्तुत गरेको कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले संघ समपुरक अनुदानका लागि संघबाट प्राप्त हुने समेत जम्मा १ करोड ८० लाख विनियोजन गरेको छ । प्रदेश समपुरक अनुदान प्रदेशबाट प्राप्त हुनेसमेत गरी ६ करोड विनियोजन गरेको छ ।

नगरपालिकाभित्रका जुनसुकै कारणले मृत्यु भएका मृतकको परिवारलाई प्रति परिवार ५ हजारका दरले जम्मा ३० लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधारतर्फ सिंचाइ, खानेपानी तथा सरसफाई समेतलाई गरी ४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

लक्षित वर्गका लागि १ करोड ७० लाख बजेट विनियोजन गरेको छ । नगरको विभिन्न क्षेत्रमा पूर्वाधार विकासको लागि नगर पूर्वाधार विकासतर्फ २ करोड बजेट विनियोजन गरेको छ भने विभिन्न साझेदार संस्थाहरुसँग साझेदारी गर्नका लागि ३ करोड विनियोजन गरेको छ ।

विपद् व्यवस्थापन तथा वन वातावरण, लघु उद्यम, पर्यटन, सहकारी, न्यायिक समिति, मठमन्दिर, सूचना तथा सञ्चार, पुरातत्व संस्कृति पर्व तथा जात्रा, प्रभावित क्षेत्र, नदीजन्य पदार्थको उत्खनन् तथा संकलनको कारणबाट प्रभावित क्षेत्र तथा विविध कार्यक्रमलगायतलाई समेटी बजेट विनियोजन गरेको निति कार्यक्रममा उल्लेख छ ।

नगर उपप्रमुख सिता थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘जमिन बाझो नराखौँ, माटोले मागेको रोपौँ’ , जति धेरै उत्पादन त्यति धेरै अनुदान, बाली संरक्षण आपतकालिन कोष, प्रत्येक किसान उत्पादक बनौँ, प्रत्येक उत्पादनलाई उद्यममा जोडौँ जस्ता लोकप्रिय नाराका साथ नीति कार्यक्रम तयार पारिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति