विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधार सरकारको प्राथमिकतामा छ : गृहमन्त्री खाण

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । सरकारले चाहँदा चाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने उनले औँल्याए ।

गृहमन्त्री खाणले रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्दै पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताए । उनले भने, “पूर्वाधार विकास शान्तिसहित समृद्धिको यात्रा हो ।” यो पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रूपमा १२ वर्षअघि निर्माण सुरु भएको हो ।

पुलले बुद्ध सर्किट जोड्ने र चार नगरको भाइचारा सम्बन्ध स्थापना गर्न मद्धत पुर्याउने उल्लेख गर्दै उनले लुम्बिनीसँगै यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा लुम्बिनी प्रदेशका ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले संघीय सरकारले चालेका कदममा प्रदेश सरकार सहयोगीको भूमिका खेल्न तयार रहेको बताए । उनले प्रदेशबाट हुने हरेक कामका लागि आफूहरू लागिपर्ने बताए ।

विसं २०६७ असार २५ गते ठेक्का सम्झौता भएको उक्त पुल ११ मिटर चौडाइ तथा १८५ मिटर लम्बाइ छ । कुल रु १३ करोड ८३ लाख १५ हजार ३७८ लागत अनुमान गरिएको पुल रु ११ करोड ७२ लाख ८८ हजार ९०७ मा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनियर अशोक पौडेलले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति