नेवार समुदायमा एक व्यक्तिकाे जीवनकालमा कति पटक हुन्छ जंकु?

काठमाडाै । नेपाल एक संस्कृतिले भरिपूर्ण देश हाे, त्यसमा पनि नेवार समुदाय परम्परा र संस्कृतिका धनी रहेका छन् । नेवाः समुदायले मनाउने संस्कृति मध्येको एक हो— ‘जंकु’ । ‘जंकु’ भन्नाले निश्चित आयु पार गरेपछि मनाइने खुसीयाली हो । नेवार समुदायमा बच्चा हुँदा गरिने पास्नी र भात खुवाइलाई जंकुको संज्ञामा राखे पनि पाँचवटा विशेष महत्वका पर्व हुन् ।

बूढाबूढी भएपछि नेवारहरूको जंकू गर्ने चलन छ । सकेसम्म परिवार, समाज र देशका लागि धेरै काम गरिसकेको हुँदा त्यसै कार्यको उच्च मूल्यांकन गरी सम्मान गर्ने र उसको सुस्वास्थ्यको कामना गर्दै लामो आयु होस् भन्ने मनसाय राखी उनीहरूबाट आशीर्वाद थाप्ने हो ।

पहिलो जंकु (भीम रथारोहण) ७७ वर्ष ७ महिना, ७ दिन, ७ घडी, ७ पला उमेरमा गरिने जंको पहिलो जंको हो । यो जंकुमा साइट हेरेर दम्पती दुबै जना भए श्रीमान्को साइट अनुसार र श्रीमान् वा श्रीमती एकल भए जसको जंकु गर्नुपर्ने हो उसैको उमेर साइट अनुसार जंकु गरिन्छ ।

दोस्रो जंकु मानीस जन्मिएर एक हजार पटक चन्द्रमा उडाइसकेको वा दर्शन हुने साइटको रूपमा ८२ वर्षको उमेरलाई लिइन्छ । त्यसैले दोस्रो जंकुमा लाख बत्ती बालेर विभिन्न विधि विधान अनुसार पूजा गरि मखमलको कपडा ओच्छाएर त्यसमाथी काठद्धार निर्मित रथमा आसन बनाएर रथारोहण गरिन्छ । रथलाई छोरा, नाती पनातीले तान्ने परम्परा छ ।

तेस्रो जंकु जंको गर्ने व्यक्तीको उमेर ८८ वर्ष ८ महिना, ८ दिन, ८ घडी, ८ पला पुगेपछि तेस्रो जंको गर्ने परम्परा छ । यस बेला जंकु गरिएको जेष्ठ नागरिकलाई रथयात्रापछि ढोकाबाट नभई घरको झ्यालबाट भित्राइन्छ ।

चौथो जंकुलाई दिव्य रथारोहण भनिन्छ । जंकु गर्ने व्यक्तीको उमेर ९९ वर्ष ९ महिना, ९ दिन, ९ घडी, ९ पला पुगेकै समयमा रथारोहण गर्ने प्रचलन छ । यस बेलासम्म बाँच्न सफल व्यक्तीलाई नयाँ घ्याम्पोमा राखेर घ्याम्पो पूजा गरिन्छ । त्यसपछि फेरि बच्चा भएर जन्मेको भावले घ्याम्पो फुटालेर निकाल्ने प्रचलन छ । वृद्ध हुनु भनेको पुनः शारिरिक रूपमा बालबालिका बन्नु जस्तै हो भन्ने पनि प्रचलन छ । यसबेला पनि काठको पांग्रा भएको रथमा राखेर गाउँ वा नगर, टोल परिक्रमा गर्ने प्रचलन छ । नाति पतातिहरूले रथ तान्ने र छोरा छोरी ज्वाँईहरूले लावा अबिर छर्कने गरिन्छ । बेलाको रथलाई दिव्यरथ भनिन्छ । एक शताव्दी बाँचेको खुसीयालीमा थप जीउन हौसला प्रदान गर्न काम पनि यो जंकुले गर्दछ ।

पाँचौं जंकुलाई महादिव्य रथारोहण भनिन्छ । जंकु गर्ने व्यक्तीको उमेर १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला को साइट पारेर जंकु गरिन्छ । अष्टमा टेकेको बेला केही अनिष्ट नहोस् भन्ने कामना गर्दै रथारोहण गरिन्छ । यसबेला निर्माण गरिएको रथलाई महादिव्य रथ भन्निछ ।

जीवनकालमा जति पटक जंकु गरियो, त्यति नै कानमा मुन्द्रा थपिन्छ । यसबाट पनि उमेर कति भन्ने जान्न सजिलो हुन्छ । रथारोहण गर्दा विशेष गरी आफ्नो परिवारका छोरा र नातिहरू प्रयोग गर्नुपर्छ भन्ने परम्परा रहिआएको छ । आफ्ना परिवारका छोरानाति कम भएमा अरू नजिकका आफन्तहरूले पनि सहयोग गर्न सकिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board