धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै

काठमाडौँ । १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरव पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो ।

भारत सरकारको महत्वकांक्षी योजना ‘रामायण सर्किट’मा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष व्यवस्था गरिएको छ ।

भारतीय पर्यटकहरुलाई जनकपुर भ्रमण गराउन मधेस प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गर्ने छ भने जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा उनीहरुलाई सहभागी गराइने छ ।

मंगलबार साँझ सफदरगञ्ज, नयाँ दिल्ली रेल स्टेसनबाट प्रस्थान गरेको सो रेल ३ दिनपछि अयोध्या, नन्दीग्राम हुँदै रामायणकालीन स्थानहरुको भ्रमण गरेर शुक्रबार अपरान्ह नेपाल प्रवेश गर्न लागेको हो ।

समय तालिकाअनुसार अपरान्ह १२ बजे जयनगर आइपुग्ने सो रेलले त्यसपछि नेपालको यात्रा तय गर्ने छ । शनिबार पुनः भारत फर्कने सो रेलले बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै सफदरगञ्ज पुग्ने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board