खेलाडीलाई सम्मान गर्ने संस्कारको विकास गरौँ : खेलकुदमन्त्री गहतराज

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका छन् ।

ओलम्पिक दिवस २०२२ को अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री गहतराजले पुराना खेलाडीहरुलाई सम्मान गर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका हुन् ।

नेपाल ओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरुबीचको पुनर्मिलन कार्यक्रममा मन्त्री गहतराजले इतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दुःख समेत व्यक्त गरे । राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै उनले भने, ‘यो भन्दा तपाईंहरुलाई आश्चर्य लाग्छ होला, तर सिंहदरबार खेलकुदप्रति सकारात्मक छैन ।’

खेलकुदसँग सम्बन्धित फाइल रोक्नुलाई सिंहदरबारभित्र ठुलो उपलब्धिका रुपमा लिने गरिएको जिकिर गर्दै उनले काम गर्न खोज्दा आफू र आफ्नो मन्त्रालयले ११ वटाभन्दा बढी मुद्दा खेप्नुपरेको बताए ।

यद्यपि विभिन्न समस्याका बीच नेपाली खेलकुद क्षेत्रको विकासमा पछिल्लो समय धेरै सरकारात्मक प्रयासहरु भएको मन्त्री गहतराजले दाबी गरे । विश्वको उदाउँदो अर्थतन्त्रका रुपमा रहेको खेलकुदलाई उद्योग तथा आर्थिक क्षेत्रका रुपमा विकास गर्ने मन्त्रालयको सोच रहेको उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिका रुपमासमेत विश्वमा खेलकुदलाई लिने गरिएको उल्लेख गर्दै उनले नेपालले समेत खेल कुटनीतिमार्फत् अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास गरिरहेको बताए ।

उनले पालिका र प्रदेश सरकारले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताए । ‘हामीले ग्रास रुट लेभलबाटै खेलाडी उत्पादनमा जोड दिनुपर्छ,’उनले भने, ‘प्रतियोगिताको समयमा मात्र खेलाडी खोज्ने अरुबेला मतलव नगर्ने प्रवृत्तिले नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीहरुको व्यवस्थापनमा समस्या देखिएको छ ।’

उनले ओलम्पिक तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका ऐतिहासिक खेलाडीहरुको सम्मानमा खेलकुद संग्राहलय बनाउनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा सन् १९६४ को टोकियो ओलम्पिकदेखि २०२० सम्म नेपालबाट ओलम्पिक खेलेका १२ जना ओलम्पियनहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुने ओलम्पियनमा बक्सिङका नामसिंह थापा, रामप्रसाद गुरुङ, उमेश मास्के, रविराज थापा, नरेन्द्र पोमा, एथलेटिक्सका बैकुन्ठ मानन्धर, जितबहादुर केसी, भक्तबहादुर सापकोटा, लक्ष्मण बस्नेत, रघुराज वन्त, मुकुन्दहरि श्रेष्ठ र भारोत्तोलनका राजेन्द्र प्रधान रहेका छन् ।

नेपालबाट हालसम्म समर ओलम्पिकमा ८४ र युथ ओलम्पिकमा ४ गरी कुल ८८ जना खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । जसमध्ये ९ ओलम्पियनको निधन भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति