चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताएकी छन् । सिन्धुलीको दुधौली नगरपालिका–३ झुँगामा वृक्षरोपणपछि आयोजित कार्यक्रममा उनले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताइन् ।

विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन् । सो समारोहमा सम्बोधनका क्रममा उनले जंगली वन्यजन्तुको बासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई–मधेस क्षेत्रमा सिंचाइका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत चुरे नै भएको बताइन् ।

तराई–मधेसका जनतालाई प्राकृतिक विपदबाट बचाउन पनि चुरेको संरक्षण अपरिहार्य भएको उनको भनाइ छ । चुरे क्षेत्रमा रहेका स्थानीय तहमा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुंगा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको संकलन र उत्खनन गर्न उनले आह्वान गरिन् ।

तराई र मधेसका जनतालाई प्राकृतिक विपदबाट बचाउन चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थीतिकीय प्रणालीलाई प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररुपमा बाँच्न दिनु पर्ने उनको भनाइ थियो । प्रकृति स्वच्छ भएमात्र मानव जीवन स्वच्छ हुने भन्दै उनले भनिन्, ‘हामीले प्रकृतिलाई संरक्षण गर्‍यौँ भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ भन्ने तथ्यलाई कसैले पनि विर्सन हुँदैन ।’

राष्ट्रपति भण्डारीले चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ, भौतिक पूर्वाधार विकासका क्रममा सहरीकरण दिन प्रतिदिन बढ्दो छ, यस प्रक्रियाले चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितिकीय प्रणालीलाई पुनःस्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्ने बेला आएको बताइन् ।

वृक्षरोपण कार्यक्रमबाट वन क्षेत्रको क्षेत्रफल वृद्धि, जैविक विविधताको संरक्षण, कार्बन सञ्चिति, भूसंरक्षण एवं पानीको स्रोत वृद्धि गर्न र स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्न मद्धत पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

वृक्षरोपण गरेर मात्र नभएर रोपेका बिरुवाको स्याहार र संरक्षण गर्न उत्तिकै महत्वपूर्ण रहेको रहेको बताउँदै उनले बिरुवा हुर्केर उत्पादन भएका वस्तु, सेवाबाट स्थानीय समुदायले लाभ प्राप्त नगरेसम्म निरन्तर संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।

यसका लागि राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति, नेपाली सेना, दुधौली नगरपालिका, विशाल सामुदायिक वन उपभोक्ता समिति सबैको उनले ध्यानाकर्षण गराइन् । साथै सिन्धुलीको कमला नदी प्रणालीलाई आगामी पाँच वर्षभित्रमा नमुना नदी प्रणालीका रुपमा व्यवस्थापन गर्ने गरी गुरुयोजनामा समेट्न राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति र नेपाली सेनाको वन तथा पर्यावरण महानिर्देशनालयलाई उनले ध्यानाकर्षण गराइन् ।

वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, सांसद गणेश पहाडी, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा विशाल सामुदायिक वनको १० हेक्टर क्षेत्रफलमा वर, पीपल, आँप, कटहर जातका १६ हजार बिरुवा रोप्ने कार्यक्रम रहेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति