काठमाडौं, ३० जेठ । नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेपछि पहिलो पटक आज एमाले सचिवालय बैठक बस्दैछ ।
आजको बैठकमा नेता भुसालमाथिको कारबाही सिफारिसबारे छलफल हुने सम्भावना नरहेको नेताहरूले बताएका छन् ।
सचिवालय बैठकअघि आइतबार बसेको एमाले कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने मुख्य तीन एजेण्डा तय गरेको छ । जसमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरूको पूर्णता र असार २ र ३ गतेलाई राखिएको जनप्रतिनिधिहरूको प्रशिक्षण छलफलको एजेण्डा बनाइएको छ ।
खास गरी एमालेमा ‘१० भाइ’ ले परिचित तेस्रो धारका नेताहरूले अध्यक्ष ओलीलाई भेटेरै भुसालमाथि कारबाही भए त्यसले पार्टीमा थप क्षति हुन सक्नेतर्फ सचेत रहन सुझाव दिएका थिए । त्यसपछि ओली कारबाहीको कदमबाट पछि हटेको बुझिएको छ । यद्यपि बैठकमा कसैले प्रसङ्ग कोट्याउन सक्ने सम्भावना रहे पनि त्यसलाई अध्यक्षले कसरी लिने भन्नेमा भर पर्ने नेताहरूको भनाइ छ । महासचिव शङ्कर पोखरेल नेतृत्वको कार्यालय बैठकमा समेत भुसालको कारबाही सिफारिसबारे कुनै चर्चा नभएपछि सचिवालयमा पनि उक्त विषय उठ्ने सम्भावना नरहेको बुझिएको छ ।
यता उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेताहरूले भुसालमाथि आयोगको सिफारिसका आधारमा कारबाही अघि बढे एमाले थप कमजोर हुनसक्ने भन्दै रोक्न आग्रह गरिसकेका छन् ।
वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा एमाले दोस्रो शक्ति बनेको छ । पाँच दलीय गठबन्धनविरुद्ध साना शक्तिहरू समेटेर चुनाव लडेको एमालेले सोचे जति नतिजा ल्याउन नसक्नुमा पार्टीभित्रकै अन्तर्घात कि सत्ता गठबन्धनको धाँधली प्रमुख कारण भन्नेमा नेताहरूबीच विवाद छ । सुरुवाती निर्वाचन नतिजा सार्वजनिक भएपछि एमालेले विज्ञप्ति निकाल्दै सत्तापक्षले निर्वाचनमा व्यापक धाँधली गरेको आरोप लगाएको थियो । निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेपछि भने उसले पार्टीभित्रकै अन्तर्घात चुनाव हार्नुको अर्को कारण रहेको बताएको थियो ।
प्रतिक्रिया