संसद्‌मा मल अभाव बारे छलफल हुँदै

काठमाडौँ, ३० जेठ । प्रतिनिधिसभाको सोमबारको बैठकमा किसानले मल नपाएको विषयमा छलफल भइरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ल्याएको मलबारे छलफल गर्नका लागि ‘स्थगनको प्रस्ताव’ माथि छलफल भइरहेको हो ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सहभागी

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेमा प्रमुख सचेतक विशाल भट्टराईलगायत १५ सांसदले स्थगनको प्रस्ताव राखेका थिए । ‘किसानलाई आवश्यक मलको व्यवस्था गर्न र दीर्घकालका लागि भण्डारणको समेत व्यवस्था गर्न आवश्यक भएकाले प्रतिनिधिसभामा छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस्’ भन्ने प्रस्ताव भट्टराईले राखेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमाथि छलफल गर्नका लागि २ घण्टाको समय छुट्याएका छन् ।

उक्त प्रस्तावमाथि अहिले सांसदहरूले छलफल गरिरहेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा ८ मन्त्रालयका विभिन्न शिर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम थियो ।

मलबारे २ घण्टा छलफल भएपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले जवाफ दिनेछन् ।
मलमाथिको छलफल सकिएपछि मन्त्रीहरूले आफ्नो मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति