नेपालसहित १३ देशका राजदूत भारतीय जनता पार्टीको मुख्यालय भ्रमणमा

काठमाडौँ, २८ जेठ । नेपाली राजदूत डा‍. शंकर शर्मासहित नयाँदिल्लीस्थित १३ विदेशी राजदूतले शनिबार भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बेलायत, अस्ट्रिया, क्रोएसिया, चेक रिपब्लिक, लिथुवानिया, फिनल्यान्ड, मौरिसस, जमैका, थाइल्यान्ड, इस्टोनिया, सर्बिया र स्पेनका राजदूत भाजपा मुख्यालय गएका हुन्।

भारतीय जनता पार्टीबारे विदेशी राजदूतलाई जानकारी गराउन उक्त कार्यक्रम गरिएको भाजपाले जनाएको छ। नेपाली राजदूत शर्माले भाजपाले अघि सारेको उक्त पहलमा सहभागी हुन पाउँदा खुसी लागेको बताए। सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी थिए।

भाजपाका नेताहरुले पैगम्बर मुहम्मदबारे गरेको अभद्र टिप्पणीका कारण भारत अहिले कूटनीतिक दबाबमा परेको छ। दर्जनभन्दा बढी इस्लामिक मुलुकले सो टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्। यहीबेला भाजपाले राजदूतहरुलाई आफ्नो पार्टीबारे जानकारी गराउने कार्यक्रम राखेको हो।

यसअघि गत अप्रिल पहिलो साता भारत गएका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भाजपा मुख्यालय भ्रमण गरेका थिए। देउवाको भ्रमण मर्यादा विपरीत रहेको भन्दै विरोध भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति