मेलम्चीबाट इन्द्रावती तर्ने अस्थायी पुल क्षति, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

सिन्धुपाल्चोक, २७ जेठ । सिन्धुपाल्चोकको मेलम्चीबाट इन्द्रावती तर्ने अस्थायी पुलमा वर्षाले क्षति पुर्‍याएको छ। गएराति भएको वर्षापछि नदीको बहाव बढेपछि अस्थायी पुलमा क्षति पुर्‍याएको हो।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार अब उक्त पुल तरेर जाने क्षेत्रका सर्वसाधारणले विकल्प प्रयोग गर्नुपर्ने भएको छ। मेलम्चीबाट शिखरपुर हुँदै भोताङतर्फ पुग्ने अस्थायी पुल नदीको बहाव बढेपछि संचालनमा ल्याउन नसक्नेगरी क्षति पुगेको हो।

यसअघि हिजो पनि मेलम्ची नदीको फट्टेको पुलमा नदीले क्षति पुर्‍याएको थियो। लगत्तै नगरपालिका प्रमुख तामाङसहितको टोलीले तत्काल मर्मत गरेको थियो। सो पुलमा भने आज क्षति नभएको तामाङले बताए।

ह्युमपाइपको माटो बगाएपछि अस्थायी पुल संचालनमा आउन नसक्ने भएको छ,’ तामाङले भने,‘अब मेलम्ची–इन्द्रावती–पाँचपोखरी यात्रा बाहुनेपाटी हुँदै वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने भएको छ,’ मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भने।

गतवर्ष मेलम्चीमा लेदोसहित आएको बाढीका कारण सयौँ घरपरिवार विस्थापित भएका थिए। विज्ञहरुले मेलम्चीको जोखिम अझै रहेको निश्कर्ष निकालेका थिए।

गत वर्षको बाढी प्रत्यक्ष भोगेका त्यहाँका स्थानीयहरु यो वर्ष मनसुन सक्रिय भएसँगै आत्तिएका छन्। उनीहरुको व्यवस्थापन हुने गरी प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अघि बढ्ने मेलम्चीका मेयर तामाङले बताए।

१ असार र १६ साउनमा आएको बाढीका कारण मेलम्ची नदीमा वितण्डा मच्चिएको थियो। भूगर्वविदसहितको प्राविधिक टोलीले २२ साउनदेखि ४ दिन भेमाथाङ्गमा बसेर त्यहाँको स्थलगत अनुगमन गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति