लुम्बिनीमा पर्यटक बढ्दै, मोदी आएपछि २ सातामै १२ हजार बढी भारतीय पर्यटक आए

  • मोहम्मद हबिब

भैरहवा । कोभिडले शून्य अवस्थामा पुर्‍याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तव्य पनि लुम्बिनी बन्दै गएको छ । यही जेठ २ गते मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका थिए ।

त्यस यता मात्र लुम्बिनी आएर १२ हजार ७७० भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् । भारतीय पर्यटक मात्र होइन आन्तरिक र तेस्रो मुलुकका पर्यटकको ग्राफ पनि बढेको छ ।

लुम्बिनी विकास कोषले दिएकोे तथ्याङ्कअनुसार मे महिना (१८ वैशाखदेखि १७ जेठसम्म)मा मात्र ७८२ जना पर्यटक विभिन्न ५१ वटा तेस्रो मुलुकबाट र ८६ हजार २४६ जना आन्तरिक पर्यटकले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बनी घुम्न आएका पर्यटक पनि थुप्रै छन् ।

तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा भारतीय पर्यटकको आगमन पनि बढ्दो छ । सन् २०२० मा भारतबाट मात्रै ३७ हजार २०६ जनाले लुम्बिनीको दर्शन गरे । यो सङ्ख्या २०२१ मा बढेर ४३ हजार ७३२ पुग्यो ।

कोभिडको जोखिम कम हुँदै गएपछि विस्तारै पर्यटन व्यवसाय चलायमान जाँदा पर्यटकको चहलपहल बढ्न थालेको हो । सोही कारण पछिल्लो पाँच महिना अर्थात् २०२२ को मे महिनासम्म ६९ हजार ७७५ भारतीय पर्यटक लुम्बिनी आए ।

भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आगमन पनि बढ्दो पाइएको छ । सन् २०२१ मा एक हजार १९७ जनामा मात्र तेस्रो मुलुकको पर्यटक भएकामा सन् २०२२ को पाँच महिनामा दुई हजार ७३७ पुगेको छ ।

विदेशी पर्यटकहरू अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइलेण्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् । विगतका वर्षमा श्रीलङ्कन पर्यटक आउने गरे पनि अहिले भने उक्त देशबाट पर्यटक आउने सङ्ख्यामा भारी घिरावट आएको छ ।

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२० मा दुई लाख १० हजार ३३ जना नेपालीले लुम्बिनी भ्रमण गरेकोमा सन् २०२१ मा चार लाख ६३ हजार ९६३ जनाले भ्रमण गरे ।

यस वर्ष २०२१ को मे सम्म पाँच महिनाको अवधिमा मात्रै दुई लाख ८९ हजार ५९४ जना स्वदेशी पर्यटक लुम्बिनी आएका छन् । यो तथ्यांक भने रुपन्देही, कपिलवस्तु र नवलपरासीबाहेकका पर्यटकको सङ्ख्या हो ।

कोषले आन्तरिक पर्यटकका लागिसमेत टिकटको व्यवस्था गरेको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तुबाहेक जिल्लाका आन्तरिक पर्यटकहरूबाट पनि प्रवेश शुल्क कोषले लिने गरेको छ ।

नेपाली विद्यार्थीहरूलाई भने ५० प्रतिशत सहुलियतमा टिकट दिने गरेका कोषले जनाएको छ । कोषका अनुसार बुद्धप्रतिको आस्था बढ्दै गएकाले उनको जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिर आउने दर्शनार्थीहरूको सङ्ख्या बढ्दै गएको हो ।

लुम्बिनीमा ध्यानसम्बन्धी देशव्यापी कार्यक्रम हुने गरेको छ । त्रिपिटक च्यान्टिङ्गलगायत आध्यात्मिक कार्यक्रमसँगै अन्य कार्यक्रम पनि यहाँ हुने गरेको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलले पनि बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board