स्थानीयस्तरमै मोतियाबिन्दुको शल्यक्रिया

रसुवा । स्थानीयस्तरमै आँखाको उपचार सेवा निःशुल्क पाएपछि यहाँका स्थानीयवासी उत्साहित भएका छन् ।

कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेका अनुसार निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट तिलगंगा आँखा केन्द्र काठमाडौँ, सामुदायिक आँखा केन्द्र एवं रेडक्रस रसुवाले दक्षिणी रसुवाको कालिका स्थानमा मोतियाबिन्दुको शल्यक्रिया गरी ग्रामीण बासिन्दालाई सेवा दिएपश्चात् स्थानीयस्तरमा उत्साह बढेको हो ।

निःशुल्क स्वास्थ्य शिविरमार्फत आँखामा मोतियाबिन्दु भएका ५८ स्थानीय बासिन्दालाई सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको रेडक्रसका सभापति बाबुलाल तामाङले बताए । साथै थप एक जनालाई आँखामा मासु पलाएको समस्यासमेत शल्यक्रियाबाट समस्या समाधान गरिएको थियो ।

शल्यक्रिया सम्पन्न गराउन कालिका गाउँपालिका–२ तथा कालिका युवा क्लबसमेतका संस्थाले सहयोग गरेका थिए । आँखाको शल्यक्रिया गर्न लाखौँ बोकेर काठमाडौँ जानुपर्ने समस्या हल गर्दै स्थानीयस्तरमा भएको निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापनमार्फत् आँखाको शल्यक्रिया गर्ने सुविधा पाउँदा सेवाग्राही हर्षित भएको शल्यक्रिया गराएका स्थानीय कालिका गाउँपालिका–२ निवासी कुलप्रसाद घिमिरेले बताए ।

उनका अनुसार आँखाको उपचार राम्रो भएको छ । शल्यक्रियाको सुविधा रसुवाका पाँच गाउँपालिकाका बासिन्दाले पाएको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति