काठमाडौं १९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी पराजयमा आन्तरिक कारण रहेको बताएका छन् ।
पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई बिहीबार सम्बोधन गर्दै ओलीले विभिन्न चार कारणले एमालेको जनमत घटेको बताए ।
बैठकमा अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको विश्लेषण गर्दै पाँच दल एकातिर हुँदा पनि परिणाम राम्रो आएको समते दावी गरे ।
बैठकमा ओलीले स्थानीय तह निर्वाचन परिणामबारे विश्लेषण गर्दै भने, यो निर्वाचनमा एकातिर एमाले थियो। अर्कातिर पाँच दल थिए। यति हुँदा पनि लोकप्रिय मत राम्रै आयो ओलीले बैठकमा भने।

ओलीले बैठकलाई सम्बोधन गर्दै एमालेले यो नतिजाबारे जनतालाई दोष दिने ठाउँ नरहेको बताए। उनले एमालेले केही जनमत गुमाउनुमा चार कारणको बैठकमा चर्चा गरेकौ प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले बताए ।

जनतालाई हामीले भन्ने ठाउँ छैन ओलीले बैठकमा बोल्दै पहिलो कारणबारे भने, हामीले नै कतिपय ठाउँमा नेताहरु व्यवस्थित रुपमा परिचालन गर्न सकेनौँ।
ओलीले चुनावको विफलताको दोस्रो कारणका रुपमा नेताहरुलाई सही जिम्मेवारी दिन नसक्नु पनि ठानेका छन्। तेस्रो कारणका रुपमा उनले टिकट वितरणलाई पनि इंगित गरेका छन्।
कतिपय ठाउँमा हामीले नेता कार्यकर्तालाई राम्रोसँग जिम्मेवारी दिन सकेनौँ उनले टिकट वितरण र निर्वाचन परिचालनतिर इंगित गर्दै भने, त्यसले गर्दा पनि कतिपय ठाउँमा हामीलाई क्षति भएको छ।
एमालेले गढका रुपमा लिएको पोखरा, बुटवल, हेटौँडा र काठमाडौं समेत गुमाएको अवस्थामा ओलीले अन्तर्घात पनि हारको अर्को चौथो कारणका रुपमा रहेको निश्कर्ष सुनाए ।
खासगरी पोखरा, काठमाडौं, बुटवलसहित कयौँ स्थानमा एमालेले उपमेयर जित्दा मेयर गुमाएको थियो। ती ठाउँमा अन्तर्घात भएको निचोड एमालेको छ।
कतिपय ठाउँमा हाम्रा साथीहरुकै अन्तर्घातले गर्दा हामी हार्यौँ, तर त्यति गर्दा पनि अपेक्षित परिणाम नै आएको छ एमाले सचिव योगेश भट्टराईले ओलीको भनाई उदृत गर्दै बताए ।

उनले एमालेको कमजोर नतिजाका चार कारण दिएपछि लोकप्रिय मतका आधारमा अहिले पनि एमाले नै पहिलो पार्टी रहेको तर्क अघि सारेका थिए । तर कुन दलले लोकप्रिय मत बढी ल्यायो भन्ने बारेमा विरोधाभाष रहंदै आएको छ ।
अहिले पनि एमाले नै पहिलो पार्टी हो। अब आगामी चुनावको तयारीमा आजैदेखि लागौँ । माथिदेखि तलैसम्म हामी निर्वाचनको तयारी गरौँ। सबैजना सक्रियतापूर्वक लाग्नु आवश्यक छ। मतदाताको सुरक्षा गर्ने चुनौती छ। ओलीले जनसंगठन प्रमुखहरुलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया