एन्फाले निर्वाचनकाे मनोनयन दर्तामा दुईको उम्मेदवारी खारेज

काठमाडौं, १९ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गराएका दुई उम्मेदवारी खारेज भएको छ ।

एन्फाको इन्टिग्रिटी कमिटीको निर्देशनमा निर्वाचन समितिले कर्मा छिरिङ शेर्पासमूहबाट सदस्यमा मनोनयन दर्ता गराएका शम्भुसिंह ठकुरी र स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका रमेश श्रेष्ठको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

एन्फाको निर्वाचन कमिटीले उम्मेदवारमाथिको दावी विरोधका लागि आजसम्म (जेठ १९) को समय दिएको थियो । निर्वाचन कमिटीका प्रवक्ता बद्री भट्टराईका अनुसार दुईजनाले मनोनयन दर्ता गर्ने क्रममा प्रक्रिया पूरा नगरेका कारण उम्मेदवारी रद्ध गरिएको हो ।

एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेकोमा यी दुईबाहेक बाँकीविरुद्ध दाबी विरोध उजुरी नपरेको उनले जानकारी दिए ।

‘हामीले जेठ ६ देखि १२ गतेसम्म मनोनयन दर्ताको समय दिएका थियौं । उहाँहरु १२ गते आउनुभएको थियो । मनोनयन दर्ता गर्दा नागरिकता र बैंक भौचर अनिवार्य हुनुपर्नेमा उहाँहरुले दर्ता गर्दै गर्नुस् बैंक भौचर लिएर आउँछु भन्नुभएको थियो,’ प्रवक्ता भट्टराईले भने, ‘उहाँहरुले भनेअनुसार मनोनयन दर्ता गरिदियौं तर जेठ १६ गतेमात्र बैंक भौचर लिएर आउनुभयो ।’

साथै निर्वाचन कमिटीले बुधबार मतदाता नामावलीमा परेको उजुरीका आधारमा चारवटा मताधिकार प्रतिनिधि संस्थालाई बदर गर्ने निर्णय गरेको थियो । सिरहा जिल्ला, सरस्वती क्लब, फ्रेण्ड्स क्लब र महिला संघको मताधिकार बदर गर्ने निर्णय भएको थियो ।

उजुरीका आधारमा छानबिन गर्दा सिरहाका प्रविण यादव वर्तमान केन्द्रीय सदस्य रहेकाले मतदान गर्न नमिल्ने, फ्रेण्डसका महासचिव दीपक थापाले एन्फाको निर्वाचन प्रक्रिया सुरु भइसकेपछि क्लबबाट राजीनामा दिएको प्रमाण पेश भएको हुनाले मताधिकार प्रयोग गर्न नमिल्ने निर्देशिकाअनुसार मत बदर गरिएको कमिटीले जानकारी दिएको छ ।

सरस्वती क्लबका मताधिकारप्राप्त व्यक्ति एन्फाकै सामाजिक उत्तरदायित्व कमिटीको संयोजक रहेको र महिला संघबाट मताधिकारप्राप्त ब्यक्तिबारे माइन्युटमा फरक व्यवस्था भएका कारण बदर गर्ने निर्णय गरिएको भट्टराईले जानकारी दिए ।

चार मताधिकारप्राप्त संस्थाले निर्वाचन कमिटीको निर्णयविरुद्ध पुनरावेदनमा जाने निर्णय गरेका छन् । आन्तरिक विवादका कारण भक्तपुर र सिन्धुली जिल्लाले मतदान नगर्ने यसअघि नै सार्वजनिक भइसकेको छ ।

चार मत बदर भएको अवस्थामा एन्फा निर्वाचनमा ८१ मत हुनेछ । एन्फाले ४५ जिल्ला, १४ एडिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघ र राष्ट्रिय लिगका लागि छानिएका चार क्लबहरुले मताधिकार पाउनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति